काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मुलुकको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित र सुदृढ तुल्याउन सरोकारवाला निकाय गम्भीर हुनुपर्ने बताएका छन् ।
वायुसेवा सञ्चालक संघ, नेपाल (आयोन) को २१औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री आलेले हवाई क्षेत्रमा रहेका समस्या समाधान गर्दै सुरक्षित उडानको सुनिश्चितताका लागि सबै सरोकारवालाले मिलेर काम गर्नुपर्ने समेत बताए । पर्यटनमन्त्री आलेले विमानस्थललाई सुरक्षित बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले बजेट विनियोजन गरेको जानकारी दिए ।

उनले निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साता १० दिनभित्रै क्यालिब्रेसन फ्लाइट गरेर छिट्टै व्यावसायिक उडान सञ्चालन गरिने जानकारी दिए । अर्को निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि बढीमा आठ महिनाभित्र क्यालिब्रेसन उडान गरिने बताए ।
कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले हवाई सुरक्षालाई प्रभावकारी बनाउन नियामक र सेवा प्रदायकबीच समन्वय र सहकार्य जरुरी भएको उल्लेख गरे ।
उनले हवाई उडानका अन्तर्राष्ट्रिय मापदण्डको प्रभावकारी पालना गर्दै हवाई सेवालाई विश्वसनीय जनमुखी बनाउन आग्रह गर्दै त्यसका लागि निजी क्षेत्रसँग मिलेर काम गर्न सरकार तयार रहेको बताए । प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले हवाई सुरक्षा अभिवृद्धिका लागि प्राधिकरण लागिपरेको बताए ।
वायुसेवा संघको नयाँ कार्यसमिति चयन

निजी क्षेत्रका वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपाल (आयोन) मा क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
संघको शुक्रबार सम्पन्न २१ औँ वार्षिक साधारणसभाबाट थापासहित पदाधिकारी तथा सदस्य सर्वसम्मतिका साथ नेतृत्व चयन गरिएको हो ।सिम्रिक एयरका कार्यकारी अध्यक्ष क्याप्टेन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
उपाध्यक्षमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमाल चयन भएका छन् । द्वितीय उपाध्यक्षमा सौर्य एयरलाइन्सका गोपाल भट्टराई र तृतीय उपाध्यक्षमा अल्टिच्यूड एयरका निमानुरु शेर्पा चुनिएका छन् । सङघको महासचिवमा समिट एयरका मनोज कार्की, सचिवमा मनाङ एयरका राजु न्यौपाने र कोषाध्यक्षमा बुद्ध एयरका रुपेश जोशी चयन भएका छन् ।
यस्तै सदस्यमा फुरु ग्याल्जे शेर्पा (हेली एभरेष्ट), सुवास अमात्य (प्रभु हेलिकप्टर), अनिल मानन्धर (श्री एयरलाइन्स), प्रज्वल थापा (गुण एयरलाइन्स), श्रीहरि कुँइकेल (कैलाश हेलिकप्टर सर्भिसेस) र बालकृष्ण पण्डित (एयर डाइनेष्टि हेलि सर्भिसेस) चयन भएको संघले जनाएको छ ।
नवनिर्वाचित अध्यक्ष थापाले मुलुकको हवाई सुरक्षालाई थप चुस्त र प्रभावकारी बनाएर नयाँ उचाइमा लैजाने प्रतिबद्धता जनाए । उनले प्राधिकरणसँग सहकार्य गरेर वायुसेवाको सुरक्षा सुदृढीकरण गरिने बताए । अध्यक्ष थापाले विमानस्थलहरुमा चराचुरुङ्गी तथा जनावरको उपस्थितिले हवाई सुरक्षाका चुनौती बढेको बताए ।
सो अवसरमा सङ्घले हवाई क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने पूर्वपर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीसहित विभिन्न व्यक्तित्वलाई कदरपत्रद्वारा सम्मान गरेको थियो ।
रासस















