खाेज्नुहाेस

बझाङका बाढीपहिरो पिडितलाई राहत वितरण

Image

बझाङ – बझाङका बाढीपहिरो पिडितलाई राहत वितरण गरिएको छ ।

कार्तिक पहिलो साताको बेमौसमी वर्षा पछि आएको बाढी र पहिरोमा परेर घरबार विहिन भएका पिडितलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले राहत वितरण गरेको हो ।

attariya hospital
navjiwan hospital

बाढीपहिरोका कारण समस्यामा परेका जिल्लाको खप्तडछान्ना गाउँपालिकाका ३२ परिवार संस्थाले ब्लाङकेट तथा म्याट्रेस सहयोग गर्नुका साथै क्षतिको अवस्था हेरी दुइहजार देखि नौ हजार सम्म नगद रकम सहयोग गरेको संस्थाकी सचिव सन्ध्या शाहले बताईन ।

उनले जिल्लाकै जयपृथ्वी नगरपालिकाका ४२ परिवारलाई प्रति परिवार ५० किलो चामल र न्यानो ब्लाङकेट राहत स्वरुप उपलब्ध गराइएको बताईन । उनका अनुसार अष्ट्रेलियामा रहेका नेपालीहरू र त्यहाँ कार्यरत नेपाली संघ संस्थाहरूबाट बझाङका बाढीपहिरो पिडितहरूका लागि सहयोग संकलन गरिएको थियो ।

खप्तड छान्ना गाउँपालिका – ४ की कार्यवाहक वडाअध्यक्ष जानकी रोकाया, जयपृथ्वी नगरपालिका – १ का वडाध्यक्ष गगन बहादुर सिँह लगायतको सहभागीतामा बझाङमा कार्यरत स्थानीय गैर सरकारी संस्था सामाजिक विकास केन्द्र नेपाल मार्फत उक्त राहत पिडितहरूलाई वितरण गरिएको थियो ।

एनआरएनए अष्ट्रेलियाले पठाएको ४ लाख १४ हजार र सामाजिक विकास केन्द्र नेपालको ५० हजार गरी ४ लाख ६४ हजार रकम बरावरको राहत पिडितलाई दिइएको बताईएको छ ।