बझाङमा फोटोसहितको मतदाता नामावली संकलन गरिने

रमेश बहादुर सिह/बझाङ – जिल्ला निर्वाचन कार्यालयले आसन्न संघ प्रदेश र स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै दुई चरणमा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने तयारी गरेको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लाका १२ वटै स्थानीय तहमा टोली परिचालन गरेर पहिलो चरणमा यही मङ्सिर–१७ देखि २६ गतेसम्म र दोस्रो चरणमा मङ्सिर–२९ देखि आगामी पुस–९ गतेसम्म फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने तयारी गरिएको हो ।

पहिलो चरणमा बुगल नगरपालिका थलारा,खय्तड छान्ना, मस्टा, साईपाल गाउँपालिका र छबिशपाथिभेरा गाउँपालिकामा नामावली सङ्कलन गरिने जनाइएको छ । यस्तै, दोस्रो चरणमा बित्थडचिर, केदारस्यु, दुर्गाथलि, सुर्मारतलकोट गाउँपालिकामा नामावली सङ्कलनको काम गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता नामावली सङ्कलन खटिने कर्मचारी यही मङ्सिर–१३ र १४ गते छनोट गरिने जनाइएको छ ।

यसका लागि कार्यालयले आइतबार मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम २०७८ को सन्दर्भमा जिल्लास्थित सरोकारवाला सँग अन्तक्र्रिया कार्यक्रम गरेको छ ।

निर्वाचन आयोगले निर्धारण गरेको कार्य तालिकाअनुसार जिल्लामा पनि ‘कोही नछुटुन्, कोही नदोहोरिउन’ भन्ने नारासहित फोटोसहितको मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गर्ने तयारी गरिएको कार्यालयका प्रमुख भानुभक्त भट्टले बताए । ‘फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न प्रत्येक पालिकामा चार÷चार जना कर्मचारी खटाइनेछ’, उनले भने, ‘जिल्ला प्रशासन कार्यालय रहेको जयपृथ्वी नगरपालिका प्रशासन कार्यालयबाट नियमितरुपमा फोटोसहितको मतदाता नामावली सङ्कलन भइरहेको छ ।’

नामावली सङ्कलनका लागि दर्ता कर्मचारी, दर्तास्थल व्यवस्थापक, सहायक दर्ता कर्मचारी र दर्तास्थल सहयोगी रहने व्यवस्था मिलाइएको जनाइएको छ । सम्बन्धित पालिकाको दुई र जिल्ला निर्वाचन कार्यालयबाट एकजना कर्मचारी खटाउने तयारी गरिएको निर्बाचन प्रमुख भट्टले जानकारी दिए ।

नामावली दर्ताका लागि १८ वर्ष पुगेका नागरिकले नागरिकताको सक्कल र प्रतिलिपि सहित तोकिएको स्थानमा पुग्नुपर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तोकिएको समय अवधिभित्र अन्य जिल्लाका नागरिकले पनि जिल्ला निर्वाचन कार्यालय बझाङ पुगेर फोटोसहितको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न सक्ने जिल्ला निर्वाचन प्रमुख भट्टले जानकारी दिए ।

स्थानीय तह निर्वाचन ऐनअनुसार २०७४ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पदावधि सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गरिसक्नुपर्ने हुन्छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.