कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगरभित्रका ६ वटा सामुदायिक विद्यालयहरुलाई बस हस्तान्तरण गरेको छ । नगरपालिकाले बुधबार एक कार्यक्रमका बिच विद्यालयका प्रतिनिधिहरूलाई बस हस्तान्तरण गरेको हो ।
नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले नगरक्षेत्रभित्र रहेका ६ वटा माध्यमिक तहका विद्यालयहरुलाई बस हस्तान्तरण गरिएको बताए । उनका अनुसार राष्ट्रिय मावि. पहरिया, उदय मावि बंक, नन्द मावि देखतभुली, कृष्ण मावि गुलरिया, महाकाली मावि र वीणा मावि विचुवालाई बस दिईएको हो ।

उनले गत आर्थिक वर्ष २०८२/०८३ को बजेटबाट विद्यालयहरुका लागि बस खरिद गरिएको बताए । ५० सिटे बस क्षमताका बसहरुको लागत अनुमान ५४ लाख रहेपनि बिडिङ मार्फत ४५ लाख ४५ हजारमा खरिद सम्झौता भएको नगरप्रमुख ओझाले बताए । २०२६ मोडेल र ३ हजार २०० सिसिका उक्त बसहरु सिपर्दी ट्रेडिङ्ग प्रा.लि. मार्फत खरिद गरिएको उनले बताए । उनका अनुसार खरिद प्रकृयामा केही ढिलाई भएका कारण ढिलो गरी बस हस्तान्तरण गरिएको हो ।


विद्यालयले चलाउन सक्ने सुनिश्चितता गरिसकेपछि मात्रै विद्यालयहरुलाई बस हस्तान्तरण गरिएको उनको भनाई छ । उनले सामुदायिक विद्यालयहरुमा अध्ययनरत साना बालबालिकाहरुलाई विद्यालय जान समस्या नहोस भन्ने उद्देश्यले बस हस्तान्तरण गरिएको बताए । उनले विद्यालयको दुरी र साना बालबालिकाहरुको अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले बस हस्तान्तरणको प्रकृया अघि बढाएको बताए ।
‘प्रतिष्पर्धाको समय छ, बालबालिकाहरुलाई टाढा रहेको विद्यालय जान समस्या हुने भएकाले बसहरु किनेर विद्यालयलाई हस्तान्तरण गरेका हौँ’ उनले भने ‘यसले बालबालिकाहरुको शैक्षिक गुणस्तरमा वृद्धि ल्याउने विश्वास लिएका छौ ।’ उनका अनुसार बस खरिद प्रकृयामा ३ वटा कम्पनिहरु सहभागी भएका थिए, जसमा टाटा, अशोक लेल्याण्ड र आईसर कम्पनि रहेका छन् ।
बस हस्तान्तरण कार्यक्रममा कृष्णपुर नगरपालिकाका नगरप्रमुख ओझा सहित उपप्रमुख द्रोपती राना, विभिन्न वडाका वडाध्यक्षहरू, विद्यालयका प्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । विद्यालयमा बस उपलब्ध भएपछि टाढाटाढाबाट विद्यालय आउने विद्यार्थीलाई आवतजावतमा सहज हुने तथा नियमित विद्यालय उपस्थितिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी ग्रामीण तथा विद्यालयदेखि टाढा रहेका बस्तीका विद्यार्थीलाई यातायातको सुविधा उपलब्ध गराउने उद्देश्यले बस व्यवस्थापन गरेको नगरपालिकाले जनाएको छ ।
















