खाेज्नुहाेस

गेटामा चिकित्सा शिक्षा अध्यापनका लागि आयोगको अनुगमन

Image

अत्तरिया – कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगको टोलीले स्थलगत अनुगमन सुरु गरेको छ । विश्वविद्यालयमा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालनको अनुमति तथा विद्यार्थीका लागि सिट संख्या निर्धारण गर्ने प्रक्रियाअन्तर्गत आयोगको टोलीले अनुगमन गरिरहेको हो । अनुगमनका क्रममा विश्वविद्यालयमा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, जनशक्ति, शिक्षण संस्था तथा शिक्षण अस्पतालको अवस्थालगायतका विषयको अध्ययन गरिनेछ ।

आयोगको टोलीले विश्वविद्यालय परिसर, शिक्षण भवन, प्रयोगशाला, अस्पताल तथा विद्यार्थीको अध्ययन र प्रयोगात्मक अभ्याससँग सम्बन्धित पूर्वाधारको निरीक्षण गर्नेछ । चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्डअनुसार विश्वविद्यालयले आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गरे–नगरेको समेत अनुगमनबाट मूल्यांकन गरिनेछ ।

attariya hospital

विश्वविद्यालय र सुदूरपश्चिम प्रदेश सरकारबीच भएको सम्झौताअनुसार प्रदेश सरकार मातहतका अस्पताललाई समेत विद्यार्थीको प्रयोगात्मक तथा क्लिनिकल अभ्यासका लागि प्रयोग गर्ने तयारी गरिएको छ । त्यसअनुसार सम्बन्धित अस्पतालको भौतिक अवस्था, उपलब्ध सेवा, जनशक्ति र विद्यार्थीलाई अभ्यास गराउन सकिने क्षमताबारे समेत अध्ययन गरिनेछ ।

गेटामा चिकित्सा शिक्षा सञ्चालनका लागि विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रम अघि बढाउने तयारी गरेको छ । पहिलो चरणमा एमबीबीएस, बीएस्सी नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी र अप्टोमेट्रीलगायतका कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको हो । यी कार्यक्रम सञ्चालन भएपछि सुदूरपश्चिमका विद्यार्थीलाई चिकित्सा तथा स्वास्थ्य शिक्षाका लागि प्रदेश बाहिर जानुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।

navjiwan hospital

एमबीबीएस कार्यक्रम सञ्चालनका लागि गेटामा रहेको अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने तयारी पनि अघि बढाइएको छ । अस्पतालको क्षमता विस्तारसँगै आवश्यक उपकरण, जनशक्ति र अन्य पूर्वाधार व्यवस्थापनको कामलाई प्राथमिकतामा राखिएको छ । विश्वविद्यालयले आफ्नै शिक्षण अस्पतालसँगै प्रदेशका अन्य अस्पताललाई पनि विद्यार्थीको क्लिनिकल अभ्यासका लागि जोड्ने योजना बनाएको छ ।

यसैक्रममा विश्वविद्यालयले सुदूरपश्चिमका चार अस्पतालसँग सम्झौता गरिसकेको छ । सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल, टीकापुर प्रादेशिक अस्पताल र लम्कीचुहा अस्पताललाई विश्वविद्यालयको चिकित्सा शिक्षा कार्यक्रमसँग जोड्ने गरी सम्झौता गरिएको हो ।

सम्झौताअनुसार यी अस्पताललाई विद्यार्थीको क्लिनिकल अभ्यास, तालिम तथा स्वास्थ्यसम्बन्धी अनुसन्धानका लागि प्रयोग गर्ने तयारी गरिएको छ । आयोगको टोलीले सम्झौता गरिएका चार वटै अस्पतालको पनि अनुगमन गर्ने जनाइएको छ ।

गेटामा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा भए–नभएको मूल्यांकन गर्न आयोगको अनुगमनलाई महत्वपूर्ण चरणका रूपमा लिइएको छ । आयोगको टोलीले पूर्वाधार, जनशक्ति, अस्पताल, प्रयोगशाला, उपकरण तथा शैक्षिक वातावरणको मूल्यांकन गरेपछि कार्यक्रम सञ्चालनको अनुमति र विद्यार्थी सिट संख्या निर्धारण गर्नेछ ।

लामो समयदेखि गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन र चिकित्सा शिक्षा सुरु हुने प्रतीक्षामा रहेको अवस्थामा आयोगको अनुगमनले प्रक्रिया अघि बढेको छ । अनुगमनपछि आयोगबाट प्राप्त सुझाव तथा मापदण्ड पूरा गर्दै विश्वविद्यालयले चिकित्सा शिक्षा कार्यक्रम सञ्चालनको तयारी अघि बढाइने जनाइएको छ ।