अत्तरिया –पछिल्ला केही दिनयता एकपछि अर्को गम्भीर घटना सार्वजनिक भएका छन् । उपभोक्ताले दैनिक उपभोग गर्ने वस्तुमा गम्भीर लापरबाही गरेर व्यवसाय सञ्चालन गरेका घटना सार्वजनिक भएपछि उपभोक्तामा चिन्ता र चासो बढेको छ । कैलालीको गोदावरी नगरपालिकाभित्र मात्रै केही दिनयता दूधमा किरा भेटिएको, खसीको मासुमा बाख्राको मासु मिसाइएको तथा स्यालको मासु खानका लागि काटेको घटनाले चर्चा पाएका छन् ।
सोमबार बिहान मात्रै गोदावरी नगरपालिका – ५, गेटास्थित एक डेरीबाट खरिद गरिएको दूधमा किरा भेटिएको गुनासोपछि प्रहरीले डेरी सञ्चालकलाई सोधपुछका लागि पक्राउ गरेको छ । स्थानीय पार्वती चौधरीले ‘कैलाली दुग्ध सहकारी संस्था लिमिटेड’बाट खरिद गरेर घरमा ल्याएको दूधमा सेतो रङको किरा भेटिएको थियो ।

सोबारे चिया खान उनको घरमा पुगेका शिव भगवती गौमाता संरक्षणका अध्यक्ष अनुपदत्त भट्टले बिहान ९ः४० बजे प्रहरी चौकी गेटामा मौखिक जानकारी गराएका थिए । जानकारी पाएपछि प्रहरी चौकी गेटाबाट प्रहरी सहायक निरीक्षक टिकेश्वरी महराको कमान्डमा दुई जनाको टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले डेरीमा बाँकी दूध खोज्दा फेला नपरेको र सबै दूध बिक्री भइसकेको डेरी सञ्चालक तेजबहादुर खड्काले बताएको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरा सिंह महराले बताएका छन् । उनले दूध परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी पठाइएको बताए । परीक्षणको रिपोर्ट आएपछि मात्रै के कारबाही गर्ने भन्ने जानकारी हुने उनले बताए ।

यसअघि शुक्रबार पनि अत्तरियामा रहेको रफीक मासु पसलमा खसीको मासुमा बाख्राको मासु मिसाएको पाइएको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कृषि ज्ञान केन्द्र कैलाली र पशु कार्यालयको अनुगमन टोलीले नै मासु मिसाएर बिक्री गरेको भेटेपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो ।
उक्त मासु पनि परीक्षणका लागि पठाइएको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी महराले बताए । उनले पक्राउ गरिएकाहरूविरुद्ध उजुरी नपरेको भन्दै मासु पसल सञ्चालक रफिक कुरेसी र बाख्राधनी गणेश सिंह धामीलाई छोडिएको बताए ।
त्यसअघि अत्तरिया बसपार्क पछाडि कुकुर काटेको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको थियो । कुकुर काटेर उपभोक्तासम्म पु-याएको आशंकामा गत बिहीबार गोदावरी नगरपालिका–२ बस्ने ६४ वर्षीय सुरेश दमाई पक्राउ परेका थिए । तर, पछि उनले औषधिका लागि मरेको स्याल काटेको बताएपछि प्रहरीले उनलाई वन कार्यालयको जिम्मा लगाएको जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी महराले वनसँग सम्बन्धित मुद्दा भएकाले उनलाई वन कार्यालयमै पठाइएको बताए ।
यी घटनाले दैनिक उपभोग्य वस्तुको गुणस्तर र त्यसको निगरानीप्रति गम्भीर प्रश्न उठाएको छ । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका वस्तुको उत्पादन, प्रशोधन, भण्डारण र बिक्री–वितरणमा व्यवसायीले आवश्यक सावधानी अपनाउनुपर्नेमा नियमित अनुगमन र त्रुटी देखिएपनि कारवाही नहुने प्रवृत्तिका कारण यस्ता घटना पटक पटक दोहरीले गरका छन ।
घटना सार्वजनिक भएपछि मात्रै अनुगमन गर्नेभन्दा पनि नियमित रूपमा खाद्य वस्तुको नमुना परीक्षण, पसलको सरसफाइ, मासुको स्रोत तथा दूधको गुणस्तर जाँच गर्न सके यस्ता समस्या नियन्त्रणमा सहयोग पुग्न सक्छ । यस्ता घटनामा दोषी को हो भन्ने विषय परीक्षण तथा अनुसन्धानबाट स्पष्ट हुने भए पनि उपभोक्ताको स्वास्थ्यसँग जोडिएको विषय भएकाले सम्बन्धित निकायले घटनाको वास्तविकता छिटो सार्वजनिक गर्नुपर्ने देखिन्छ । साथै, व्यवसायीले पनि नाफाभन्दा उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ ।
















