जनकपुरधाम – महोत्तरीमा एकजना नगरप्रमुखले नै नगरपालिकामा ताला लगाएको छ। भंगहा नगरपालिकाका नगर प्रमुख संजिवकुमार साहले लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएको भन्दै सोमबार नगरपालिका कार्यालयसहित ९ वटै वडा कार्यालयमा तालाबन्दी गरेका छन्।

प्रमुख प्रशासकीय अधिकृत तीन दिनभित्र हाजिर नभए अत्यावश्यक सेवाबाहेक सम्पूर्ण कामकाज बन्द गर्ने चेतावनी दिएकोमा सो अल्टिमेटम सकिएपछि नगरप्रमुख साहले नगरपालिका कार्यालय र सबै वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।

तालाबन्दी गरेपछि मेयर साहले त्यसको साँचो महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बुझाएका हुन्। भदौ १ गतेको पत्रमार्फत भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले खिमराज भुसाललाई भंगहाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो।
तर पत्र आएको लामो समय बितिसक्दा पनि भुसाल हाजिर नभएको नगर प्रमुख साहको भनाइ छ। प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न पटक–पटक मन्त्रालय धाएर जानकारी गराए पनि समस्या समाधान हुन नसकेको साहले बताए।

















