दार्चुला – भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माणमा ढिलाइ भएको जिल्ला अस्पताल दार्चुलाको भवन निर्माण कार्यले गति लिएको बताएका छन् । उनले स्थलगत अनुगमनपछि दिएको निर्देशनसँगै निर्माण कार्य अघि बढेको र हाल भवन निर्माणको भौतिक प्रगति करिब ६० प्रतिशत पुगेको जनाएका हुन ।
मन्त्री लम्सालले सामाजिक सञ्जालमार्फत जिल्ला अस्पताल दार्चुलाको भवन निर्माणमा उल्लेख्य प्रगति भएको बताउँदै पुस मसान्त भित्र अस्पताल भवनको निर्माण सम्पन्न हुने बताए ।


यसअघि साउन अन्तिम साता अस्पतालको अवलोकन गर्दै मन्त्री लम्सालले निर्माण व्यवसायीमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन र ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए ।
सम्झौताअनुसार समयमै निर्माण सम्पन्न हुन नसकेपछि अस्पताल भवन लामो समयदेखि अलपत्रजस्तै अवस्थामा रहेको थियो । मन्त्री लम्सालले अस्पताल भवन निर्माण सम्पन्न भएपछि जिल्लाका नागरिकले स्वास्थ्य सेवा लिन सहज हुने भएकाले निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको बताएका छन् ।
उनले लखेका छन् ‘दार्चुला जिल्ला अस्पतालको निर्माण परियोजना लामो समयदेखि रुग्ण अवस्थामा थियो । २०७८ असार २४ गते ठेक्का सम्झौता भई निर्माण सुरु भएको परियोजनामा दुई पटक म्याद थप गर्दा समेत आधाभन्दा बढी भौतिक प्रगति थिएन । गत साउनको अन्तिम साता सुदूरपश्चिमका विभिन्न जिल्लामा सञ्चालित परियोजनाको अनुगमन गर्ने क्रममा दार्चुला जिल्ला अस्पताल भवन निर्माणमा भएको ढिलाइप्रति कारबाही प्रक्रिया अघि बढाएर ठेक्का तोड्न निर्देशन दिएका थियौँ ।
सुदूरपश्चिमको अनुगमनपछि दार्चुला जिल्ला अस्पताल भवन निर्माणमा उल्लेख्य प्रगति भएको छ । हाल परियोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । आगामी पुस मसान्तसम्म अस्पताल भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी काम अघि बढेको छ ।’
















