बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका–२ मा रहेको देवथला माध्यमिक विद्यालयले विज्ञान शिक्षकका लागि १५ औं पटक विज्ञापन खोलेको छ । विद्यालयले संघीय अनुदान कोटामा गत शैक्षिकसत्र मंसिरदेखि नै विज्ञान विषयको दरबन्दीमा शिक्षक नपाएपछि भदौ ३० मा १५ औं पटक १५ दिने सूचना प्रकाशित गरेको छ ।
गत शैक्षिक सत्रको मंसिरदेखि विज्ञान शिक्षकको लागि लगातार १४ पटकसम्म विज्ञापन गर्दा पनि दरखास्त नपरेकाले १५ औं पटक पनि विज्ञापन गर्न बाध्य भएको विद्यालयका प्रधानाध्यापक (प्रअ) शुक्रबहादुर चन्दले बताए । यसअघि कार्यरत शिक्षक घरपायक सरुवा भएर गएका थिए । ‘अध्यापन अनुमतिपत्र (लाइसेन्स) नभएका त धेरै जना सम्पर्कमा आउँछन्,’ उनले भने, ‘लाइसेन्स भएको विज्ञान शिक्षक कोही पनि सम्पर्कमा आउँदैनन् ।’

अहिले विद्यालयमा निमावि तहका एक जना बिएस्सी र गणित शिक्षकबाट मावि तहको विज्ञान विषय अध्यापन गराउनुपर्ने बाध्यता रहेको प्रअ चन्दले बताए । विद्यालयले पहिलो पटक एक महिनाको र त्यसपछि एक साता र अहिले हरेक १५ दिनमा विज्ञापन गर्दै आएको विद्यालयका लेखापाल जीवनसिंह मंगोलाले जानकारी दिए ।

जिल्ला सदरमुकामबाट दुर्गम भारतसँग सिमाना जोडिएको ठाउँ भए पनि सडक, बिजुली र इन्टरनेटलगायत सबै सुविधा भएको विद्यालयमै पनि शिक्षक नभेटिने गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण चन्दले बताए ।
अहिले नेपाल सरकारले संघीय अनुदानमा कार्यरत शिक्षकको ४८ हजार रुपैयाँ तलबभत्ता तोकेको छ । विद्यालयले यो तलबसहित शिक्षकको बस्ने व्यवस्थासमेत गर्दा पनि शिक्षक टिकाउन समस्या भइरहेको उनले बताए ।
विसं २०१४ सालमा स्थापना गरिएको यो विद्यालयमा बालविकासदेखि १० कक्षासम्म ४ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । प्राथमिक तहका तीन स्थायी दरबन्दी भएको विद्यालयमा पालिका अनुदान र संघीय अनुदान गरी १३ जना शिक्षक कार्यरत छन् ।
यस्तै पालिकाका अरु विद्यालयले पनि विज्ञान शिक्षकको लागि तीन–चार पटक विज्ञापन गरेपछि मात्र विज्ञान शिक्षक पाउने गरेको पञ्चेश्वर गाउँपालिकाका शिक्षा शाखा प्रमुख महामल घटालले जानकारी दिए । अहिले पालिकाका अरु विद्यालयमा विज्ञान शिक्षकको पदपूर्ति भए पनि देवथलामा मात्र यस्तो समस्या आएको उनले बताए ।


















