धनगढी – कैलालीका तीन स्थानीय तहमा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । जेईको संक्रमणदर बढ्दै गएपछि असोज १ गतेदेखि अभियान सञ्चालन गर्न लागिएको हो ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा अभियान सञ्चालन हुने जानकारी दिए ।


स्वास्थ्य प्रमुख कुवँरका अनुसार घोडाघोडी र लम्की चुहा नगरपालिकामा असोज १ देखि ७ गतेसम्म तथा धनगढी उपमहानगरपालिकामा असोज ८ देखि २२ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । अभियानअन्तर्गत ३० वर्ष वा सोभन्दा माथिका व्यक्तिलाई जेईविरुद्धको खोप लगाइनेछ ।
स्वास्थ्य कार्यालयका अनुसार धनगढीमा १ लाख २ हजार ४९९, घोडाघोडीमा ३९ हजार ५९ र लम्कीचुहामा ४० हजार ७५५ गरी १ लाख ८२ हजार ३१३ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । लक्षित जनसंख्यामध्ये १ लाख ३८९ जना महिला छन् ।
अभियानका लागि १ लाख ९१ हजार ४२९ डोज खोप आउने क्रममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्थानीय तह र स्वास्थ्य संस्थामार्फत खोप लगाउने गरी आवश्यक तयारी भइरहेको कार्यालयले जनाएको छ । सन् २०२६ को सुरुवातयता घोडाघोडीमा जेई संक्रमणका कारण दुई जनाको मृत्यु भइसकेको छ भने धनगढी र लम्कीचुहामा तीन÷तीन जना संक्रमित रहेको प्रमुख कुँवरले बताए ।



















