काठमाडौँ । उमेर बढ्दै जाँदा अनुहारको चमक र प्राकृतिक मोइस्चर कम हुनु सामान्य हो । समयसँगै छालामा चाउरी, मसिना रेखा, सुक्खापन र छाला झोलिने समस्या देखिन सक्छ ।
तर उचित हेरचाह गरेमा लामो समयसम्म छालालाई नरम, चम्किलो र स्वस्थ राख्न सकिन्छ । छालाको हेरचाहमा प्राकृतिक तेलको प्रयोग पनि एउटा विकल्प हुन सक्छ ।
यी तेलले छालालाई गहिराबाटै पोषण दिन्छन्, कोलेजन बढाउन मद्दत गर्छ अनि बुढ्यौलीको संकेत पनि कम गर्छ । फ्याटी एसिड, भिटामिन र एन्टिअक्सिडेन्ट भरिपूर्ण यी तेलले छालालाई मोइस्चराइज गर्न र पोषण दिन मद्दत गर्छन् । बढ्दो उमेरका कारण देखिने छालाका परिवर्तनलाई ध्यानमा राख्दै यी ७ तेललाई स्किनकेयरमा समावेश गर्न सकिन्छ ।
नरिवलको तेल

छालाको लागि नरिवलको तेल कुनै वरदानभन्दा कम छैन । यसमा पाइने फ्याटी एसिड र एन्टिअक्सिडेन्टले छालामा मोइस्चर कायम राख्न मद्दत गर्दछ । नियमित रूपमा प्रयोग गर्दा छाला नरम र मुलायम राख्न सहयोग पुग्न सक्छ । छालामा देखिने मसिना धर्सालाई पनि कम गर्न पनि यो असरदार हुन्छ ।
बदामको तेल
बदामको तेलमा प्रशस्त मात्रामा भिटामिन ई पाइन्छ । यसले पोषण दिन्छ, अनि छालालाई नरम राख्न मद्दत गर्छ । नियमित रूपमा अनुहारमा प्रयोग गर्दा छालालाई स्वस्थ र चम्किलो देखिन सहयोग पुग्न सक्छ ।
जैतुनको तेल
जैतुनको तेल भिटामिन र एन्टिअक्सिडेन्टको खजाना हो । यसले छालालाई लामो समयसम्म हाइड्रेट राख्न सहयोग गर्छ । अनुहारमा चाउरी कम गर्न यो निकै सहायक हुन्छ ।

रोजहिप तेल
जब एन्टी–एजिङको कुरा आउँदा रोजहिप तेललाई प्रभावकारी मानिन्छ । यसमा भिटामिन ए र सी पाइन्छ । यी पोषक तत्त्वले छालाको हेरचाहमा सहयोग गर्नुका साथै छालालाई कसिलो र स्वस्थ राख्न मद्दत गर्न सक्छन् ।
आर्गन आयल
आर्गन आयललाई स्किनकेयरको दुनियाँमा ‘लिक्विड गोल्ड’ पनि भनिन्छ । यसमा फ्याटी एसिड र भिटामिन ई पाइन्छ । यसको प्रयोगले छालाको मोइष्चर र लचकता कायम राख्न सहयोग गर्न सक्छ ।
जोजोबा आयल
जोजोबा आयलको सबैभन्दा खास कुरा यही हो कि यसको बनावट हाम्रो छालाले उत्पादन गर्ने प्राकृतिक तेलसँग मिल्दोजुल्दो हुन्छ । त्यसैले यो छालामा सजिलै फैलिन र अवशोषित हुन सक्छ । यसले छालामा मोइष्चर कायम राख्न तथा छालाको प्राकृतिक तेलको सन्तुलन कायम गर्न सहयोग गर्छ ।
एभोकाडो आयल
एभोकाडो आयलमा कयौं प्रकारका पोषक तत्त्वका साथै भिटामिन ए, डी र ई पनि पाइन्छ, यसले रुखोपन हटाएर छालालाई मोइस्चराइज गर्न र पोषण दिन सहयोग गर्छ । यसको प्रयोगले छालालाई नरम र स्वस्थ राख्न मद्दत गर्न सक्छ ।
प्राकृतिक तेल सबैको छालामा एउटै किसिमले अनुकूल हुन्छ भन्ने हुँदैन । नयाँ तेल अनुहारमा प्रयोग गर्नुअघि सानो भागमा परीक्षण गर्नु उपयुक्त हुन्छ । छालामा जलन, रातोपन वा अन्य असहजता देखिएमा प्रयोग बन्द गर्नुपर्छ । त्यस्तै, छालासम्बन्धी विशेष समस्या वा संवेदनशील छाला भएका व्यक्तिले कुनै पनि नयाँ उत्पादन प्रयोग गर्नुअघि छाला रोग विशेषज्ञसँग परामर्श गर्नु राम्रो हुन्छ ।

















