खाेज्नुहाेस

दिवा खाजाका लागि विद्यालय हाताभित्रै करेसाबारी

Image

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – २ वाणीमा रहेको सिद्धनाथ बालज्योती आधारभूत विद्यालयले दिवा खाजाका लागि विद्यालय परिसरमै करेसाबारी निर्माण गरेको छ । विद्यालयले विद्यार्थीलाई पोसिलो र अग्र्यानिक उत्पादन खुवाउने उद्देश्यले विद्यालय परिसरमै करेसाबारी निर्माण गरेको हो । थोरै जग्गा भए पनि खाली रहेको ठाउँमा विद्यालयले विभिन्न प्रकारका मौसमी बेमौसमी तरकारी उत्पादन गर्दै आएको छ । जुन तरकारी दिवा खाजामा मिसाएर विद्यार्थीलाई नै खुवाइने गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक दीपक सिंह भण्डारीले विद्यालयको मैदानको खाली रहेको ठाउँमा करेसाबारी बनाइएको बताए । उनले सुरुमा करेसाबारीमा रायो, पालुङ्गो, लसुन, प्याज, धनीया रोपेको र नर्सरी पनि उत्पादन गर्ने गरिएको बताए । उनले नर्सरीमा उत्पादन भएका बिरुवा विद्यार्थीलाई घरमा लगाउनको लागि दिने गरेको बताए । उनले तरकारी खेतीमा अभिभावकको पनि राम्रो साथ रहेको बताए । उनले विद्यार्थीहरूलाई बेर्ना दिएर घरमा पनि कसरी उत्पादन गरे भनेर हेर्न गरेको बताए । उनले हाल करेसाबारी बनाएको देखेर सङ्घसंस्था र नगरपालिकाले पनि सहयोग दिएको बताए ।

attariya hospital

navjiwan hospital

‘विद्यालयमा गरेको तरकारी खेती देखेर एनएनएसडब्लुएले पनि विद्यालयमा पोषण कार्यक्रम अन्तरगत टनेल निर्माण गरिदिएको छ । टनले बनाएपछि अहिले हामीले त्यसमा गोलभेँडा, काउली, खुर्सानी लगायतका तरकारीका बेर्ना राखेका छौ’ उनले भने ‘अहिले व्यवस्थित रूपमा नै करेसाबारीमा तरकारी खेती गर्न सहज भएको छ ।’ उनले हाल बासको टनेल बनाएको भए पनि यसलाई दिगो बनाउनको लागि फलामको टनेल बनाउन पाए अझै सहज हुने बताए ।

उनले कृष्णपुरको कृषि शाखाको सहयोगबाट विद्यालयमा च्याउ पनि उत्पादन गरेको बताए । विद्यालयमा च्याउ उत्पादन गरेपछि विद्यार्थीहरूले पोसिलो खाना खान पाउनुका साथै च्याउ खेती गर्ने ज्ञान पनि सिकेको उनले बताए । उनले विद्यालयमा गुणस्तर शिक्षा परियोजना लागू भएपछि बाल विकास सम्बन्धीका तालिम सँगै बालबालिकाका लागि आवश्यक शैक्षिक सामग्री पनि प्राप्त भएको बताए ।
कृष्णपुरको कृषि शाखा प्रमुख लाल बहादुर धामीले विद्यालयले कृषिमा उत्कृष्ट काम गरिरहेको बताए । उनले नगरपालिकाको कृषि शाखाबाट पनि विभिन्न कार्यक्रम सँगै प्राविधिक सहयोग विद्यालयलाई गर्दै आएको बताए ।

एनएनएसडब्लुएका मिल अधिकृत मिठ्ठु हुड्केले विद्यालयले उपलब्ध गराउने दिवा खाजाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले आफूहरुले सहयोग गरेको बताए । उनले विद्यालयमा करेसाबारीमा तरकारी उत्पादन गर्दा बालबालिकाले व्यवहारिक सिप पनि सिक्ने बताए । ‘यसबाट विद्यार्थीले विद्यालयमै कुन तरकारी कस्तो हुन्छ भन्ने कुरा सिक्नेछन’ उनले भने ‘विद्यार्थीले विद्यालयमा तरकारी खेती गरेको देखेर घरमा पनि उत्पादन गर्न सक्छन् ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीत बहादुर चौधरीले तरकारी खेतीले विद्यार्थीले अग्र्यानिक खानेकुरा खान पाएको बताए । उनले विद्यार्थीहरूले तरकारी खेतीको सिप पनि सिक्न पाएको बताए । वडा सदस्य समेत रहेका उनले शिक्षाको गुणस्तर सुधारका लागि पालिकाले पनि जोड दिएर काम गरिरहेको बताए । उनले शिक्षाको सुधारका लागि संघसस्थाहरुको पनि उतिकै सहयोग गरेको बताए । कक्षा ५ सम्म अध्ययन गरिने उक्त विद्यालयमा हाल १०७ जना अध्ययनरत रहेका छन् ।