नेपाली कांग्रेसका संसदीय दलका नेता तथा प्रतिनिधिसभा सदस्य भिष्मराज आङदेम्बेले रसुवाको भोटेकोशी बाढीपछि सरकारको उद्धार तथा राहत कार्यबारे गम्भीर प्रश्न उठाउँदै सरकारलाई कमजोर बनाउन नभई प्रभावकारी बनाउन खबरदारी गरिएको बताएका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै आङदेम्बेले बाढी प्रभावित क्षेत्रबाट फर्किएपछि आफूले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर नौबुँदे ध्यानाकर्षण गराएको जानकारी दिए। सभामुखलाई समेत भेटेर संसद् तत्काल आह्वान गरी विपद्को विषयमा छलफल गर्न आग्रह गरेको उनले बताए।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा स्वयं बाढी प्रभावित क्षेत्रमा पुगेर फर्किएको र पार्टीले आफ्नो सम्पूर्ण पंक्ति परिचालन गरी फिल्डमै काम गरिरहेको उनले बताए।
‘विपद्को यो क्षणमा सबैको साझा कर्तव्य उद्धार, राहत र पुनःस्थापनामा जुट्नु हो। नेपाली कांग्रेस सरकारको साथमा छ, हामी विपद्को पीडा भोगिरहेका परिवारसँगै छौं,’ आङदेम्बेले भने।

तर सरकारको साथमा हुनुको अर्थ सरकारले गरेका सबै काम सही छन् भनेर मौन बस्नु नभएको उनको भनाइ थियो। सरकारले राम्रो काम गर्दा साथ र समर्थन गर्ने, तर बाटो बिराउँदा प्रश्न र खबरदारी गर्नु प्रतिपक्षको जिम्मेवारी भएको उनले बताए।
‘सरकारको साथमा छौं भन्नुको अर्थ सरकारले गरेका सबै काम ठीक छन् भन्ने होइन। राम्रो काम गर्छ भने साथ र समर्थन छ, बाटो बिराउँछ भने खबरदारी र प्रश्न पनि छ,’ उनले भने। साथै उनले बाढी आएको एक साता बितिसक्दा पनि अवस्था पूर्ण रूपमा सामान्य हुन नसकेको भन्दै सरकारको उद्धार कार्यप्रति प्रश्न उठाउनु पूर्वाग्रह नभई जिम्मेवारी भएको बताए।
‘यो पूर्वाग्रह होइन, प्रश्न हो। हामी सरकारलाई कमजोर होइन, प्रभावकारी बनाउन प्रश्न गरिरहेका छौं,’ उनले भने।
उनले सरकार र सत्तापक्षका सांसदहरूलाई नागरिकको जीवनसँग जोडिएको विषयलाई गाली वा राजनीतिक आरोपको विषय नबनाई आत्मसमीक्षाको विषय बनाउन आग्रह गरे।
‘यो प्रचार गर्ने समय होइन, प्राण बचाउने समय हो। नागरिकको जीवनसँगको प्रश्नलाई गालीको विषय होइन, आफैंभित्र समीक्षाको विषय बनाउनुहोस्,’ आङदेम्बेले भने।



















