धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा सुधार गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन । मंगलबार अस्पतालको अनुगमन गर्दै उनले उपलब्ध स्रोतसाधन र जनशक्तिको अधिकतम उपयोग गर्दै सेवा प्रवाहमा सुधार गर्न निर्देशन दिए ।
अस्पतालमा थप्नु पर्ने सेवासुविधाका विषयमा प्रदेश सरकारले आवश्यक पहल गर्ने मुख्यमन्त्रीको भनाइ छ । उनले असपतालको सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र चुस्त बनाउन आवश्यक रहेको औल्याए ।


भट्टले अस्पतालमा आउने कुनै पनि नागरिक सेवा लिनबाट वञ्चित हुन नहुने जिकिर गरे । उनले बिरामी तथा सेवाग्राहीप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्नेमा जोड दिए ।
सेवा लिन आउने नागरिकले अनावश्यक ढिलासुस्ती र झन्झट व्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने मुख्यमन्त्री भट्टको जोड थियो । अस्पतालको सेवा प्रवाहसँगै भौतिक तथा संरचनागत सुधारमा समेत प्रदेश सरकारले ध्यान दिने उनले बताए । सो अवसरमा उनले कर्मचारीहरूसँग छलफलसमेत गरेका छन ।
अस्पतालले प्रदान गरिरहेको सेवा, अस्पतालको अवस्था लगायतको बारेमा अस्पतालका सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।



















