खाेज्नुहाेस

बडीमालिका स्वास्थ्य शिविरबाट ९ सय तीर्थयात्री लाभान्वित

Image

बाजुरा – धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा यही भदौ ११ गतेसम्म लागेको मेलाका अवसरमा सञ्चालित स्वास्थ्य शिविरबाट ९ सयभन्दा बढी तीर्थयात्री लाभान्वित भएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालयको आयोजना, सशस्त्र प्रहरी गुल्म बाजुराको समन्वय तथा सशस्त्र प्रहरी फिल्ड अस्पताल अत्तरियाको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट ९०५ जना तीर्थयात्री लाभान्वित भएका हुन् ।

attariya hospital

वैद्यनाथ बाहिनीले सार्वजनिक गरेको विवरणअनुसार सशस्त्र प्रहरी निरीक्षक डा चेतबहादुर धामीको नेतृत्वमा बडीमालिका मन्दिर परिसरमा यही भदौ १ देखि ११ र नाटेश्वरीमा भदौ ८ देखि १२ गतेसम्म शिविर सञ्चालन गरिएको थियो । ती शिविरबाट ४१५ महिला र ४९० पुरुष गरी ९०५ जनाले प्राथमिक उपचारसहितको स्वास्थ्य सेवा लिएका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले जानकारी दिए ।

navjiwan hospital

शिविरमा ज्वरो, रुघाखोकीलगायत स्वास्थ्य समस्या देखिएका बिरामीलाई उपचारसँगै आवश्यक औषधिसमेत वितरण गरिएको उनले बताए ।

शिविरको नेतृत्व गरेका डा धामीका अनुसार अधिकांश बिरामीमा लेक लाग्ने, अक्सिजनको कमी तथा मौसम परिवर्तनका कारण रुघाखोकी र ज्वरो आउने समस्या देखिएको थियो । त्यसक्रममा जटिल अवस्थाका बिरामीलाई उद्धार गरी थप उपचारका लागि अन्य स्वास्थ्य संस्थामा ‘रिफर’समेत गरिएको उनले बताए ।

यसैगरी, त्रिवेणी नगरपालिकाको स्वास्थ्य शाखाले पनि बडीमालिकालगायत क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । नगरपालिकाले सञ्चालन गरेका ती शिविरबाट एक हजार १६९ तीर्थयात्रीले स्वास्थ्य सेवा लिएका जनाइएको छ ।

समुद्री सतहबाट करिब चार हजार २०० मिटर उचाइमा रहेको बडीमालिकामा यस वर्ष गत वर्षको तुलनामा दोब्बर तीर्थयात्री पुगेको अनुमान गरिएको छ ।

गत वर्ष करिब ४५ हजार भक्तजनले बडीमालिका माताको दर्शन गरेको अनुमान थियो । यस वर्ष भक्तजनको सहजताका लागि भदौ १ गतेदेखि नै बडीमालिकामा पूजा सुरु गरिएको थियो । भदौ ११ गते मूल पूजा सम्पन्न भएको थियो ।