धनगढी– सुदूरपश्चिममा नयाँ गठन भएको सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको शैक्षिक योग्यता एसएलसी देखी माथी रहेको पाईएको छ । प्रदेश सभाको सचिवालयमा उल्लेखित विवरण अनुसार नयाँ गठित सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको शैक्षिक योग्यता एसएलसी देखी एमएसम्म रहेको पाईएको हो ।

प्रदेश सभाको विवरण अनुसार मुख्यमन्त्री खगराज भट्टको शैक्षिक योग्यता आईएल रहेको छ । उनले कानुन विषयमा प्रवीणता प्रमाणपत्र तह अध्ययन गरेको विवरणले देखाएको छ । नेकपाबाट आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका खुसीराम डगौरा थारुले स्नातक सम्म अध्ययन गरेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले पनि स्नातक तहसम्म अध्ययन गरेका छन् । सोही मन्त्रालयकी राज्यमन्त्री इन्दीरा गिरीले एसएलसीसम्म अध्ययन गरेकी छन् । यस्तै भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाटले स्नातक तहसम्म अध्ययन गरेका छन् । सोही मन्त्रालयकी राज्यमन्त्री जानकी देवी कुँवरले एसईईसम्म अध्ययन गरेकी छन् ।

नेकपा एमालेबाट आर्थिक मामिलामन्त्री बनेका चक्र मल्लले एमएसम्म अध्ययन गरेका छन् । आर्थिक मामिला राज्यमन्त्री जानकी ऐर बमले स्नातक तहसम्म अध्ययन गरेकी छन् । सामाजिक विकासमन्त्री सन्तोषकुमारी शर्मा थापाले प्रमाणपत्र तहसम्म अध्ययन गरेकी छन् भने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमन भण्डारीले स्नातक तहसम्म अध्ययन गरेका छन् ।















