बैतडी – बैतडीको पाटन नगरपालिकाका नगर स्वयंसेवक शिक्षकहरुले विभिन्न ९ बुँदे माग राख्दै नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । पारिश्रमिक वृद्धि, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा पोशाक भत्ताको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै उनीहरूले आइतबार नगर प्रमुख गौरीसिंह रावलसमक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझाउँदै नगर स्वयंसेवक शिक्षक समितिका अध्यक्ष राजेन्द्र बिष्टले विद्यालयमा नगर स्वयंसेवक शिक्षकहरुले खेल्दै आएको भूमिकालाई कमजोर नठान्न आग्रह गरे । पठनपाठनमा अन्य शिक्षकको तुलनामा आफूहरूको भूमिका कमजोर नरहेको भन्दै उनले पारिश्रमिकको हकमा नगर स्वयंसेवक शिक्षकहरुमाथि विभेद भएको गुनासो गरे ।


नगर स्वयंसेवक शिक्षकलाई पनि अभिलेखीकरण गरी केन्द्रस्तरमा तथ्यांक पठाउनुपर्ने शिक्षक हरिप्रसाद भट्टले बताए । देशभर विभिन्न प्रकारका शिक्षक रहे पनि पालिका शिक्षकको स्पष्ट अभिलेख नरहेको भन्दै उनले नगर स्वयंसेवक शिक्षकहरुको विवरण केन्द्रमा पठाएर आफूहरूको पहिचान स्थापित गर्नुपर्नेमा जोड दिए ।
उनले ‘नगर शिक्षक’ भनिँदै आएको पदलाई ‘नगर अनुदान शिक्षक’ नामकरण गर्नुपर्ने मागसमेत राखे । नगर शिक्षक गोविन्दप्रसाद पन्तले आफुहरुले कुनै राजनीतिक पूर्वाग्रह नराखी विशुद्ध शिक्षकको पेशागत हकहितका लागि ज्ञापनपत्र बुझाएको बताए ।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख गौरीसिंह रावलले नगरपालिकाले चालु आर्थिक वर्षमा नगर स्वयंसेवक शिक्षकको पारिश्रमिकमा २ हजार ५ सय रुपैयाँ वृद्धि गरेको बताए । सम्भव भएसम्म कार्यपालिका र नगरसभामा सहमति जुटाएर थप पारिश्रमिक वृद्धि गर्न पहल गर्ने उनले प्रतिबद्धता जनाए ।



















