खाेज्नुहाेस

छाडा चौपायाको समस्या विकराल, रातभर जाग्राम बस्नुपर्ने बाध्यता

Image

अत्तरिया – छाडा चौपायाको समस्या विकराल बन्दै जाँदा बाली जोगाउन किसान रातभर जाग्राम बस्न बाध्य छन् । कैलालीको गोदावरी नगरपालिकामा सयौँको सङ्ख्यामा सडकमा छाडिएका छाडा चौपायाका रातीको समयमा धान खेतमा जान थालेपछि किसान जाग्राम बस्न बाध्य भएका हुन ।

गोदावरी नगरपालिका – ४ की रम्दा देवी बडू छाडा चौपायाको समस्याले राम्ररी खान, सुत्न नपाएको बताइन । ‘हामीलाई छाडा चौपायाका कारण समस्या धेरै छ । हामीले राती खान खान पनि पाएका छैनौ । सुत्न पनि पाएका छैनौ’ उनले भनिन् ‘राती सर्पको डर नभनी पानी परे पनि खेतमा पहरा दिन निस्कनु परेको छ ।’

attariya hospital

उनले आफ्नो खुट्टा टुटेको भए पनि राती बाध्य भएर गाई धपाउन जानुपरेको बताइन् । उनले मुस्किलले लगानी जुटाएर गरेको खेती छाडा चौपायाले खाने गरेपछि निकै समस्या हुन थालेको बताइन ।

‘खेती गर्दा कम्तीमा पनि १० हजार खर्च लाग्छ । खेतमा छाडा चौपाया आए एक छिनमा सखाप पारिदिन्छ’ उनले भनिन् ‘मल पाउन उस्तै समस्या छ । बडा मुस्किलले लगाएको खेती पनि गाई गोरुले खाइदिए हामीले कसरी उत्पादन गर्ने ।’ उनले जनप्रतिनिधिले भोट माग्दा ठुला ठुला कुरा गरेर अहिले आएर बेवास्ता गरेको बताइन ।

navjiwan hospital

स्थानीय कुन्ती साउँदले राती छाडा चौपाया धपाउनको लागि आफ्नो ४ वर्षको छोरो काखी च्यापेर खेतमा जानुपर्ने बाध्यता रहेको बताइन । उनले अर्काको जग्गामा अधियामा खेती गरेर गुजारा गर्ने गरेकोमा त्यो पनि छाडा चौपायाले खाइदिने जोखिम रहेको बताइन ।

‘अर्काको जग्गा अदियामा लिएर खेती गर्दै आएको भए पनि त्यो पनि छाडा चौपायाले खाइदिन्छ की भन्ने चिन्ता छ’ उनले भनिन ‘छाडा चौपायाबाट खेती जोगाउन ४ वर्षको छोरोलाई लगेर राती १२ बजे देखि बिहान ७ बजे सम्म खेतमा हेर्न जाने गरेकी छु ।’

करिब एक दशकदेखिको छाडा चौपायाको समस्या समाधान नहुँदा अहिले स्थानीयमा आक्रोश समेत बढेको छ । जनप्रतिनिधिले चुनावमा छाडा चौपायाको समस्या समाधान गर्ने एजेन्डा नै बनाएर चुनाव लड्ने गरेका भए पनि पछि बेवास्ता गर्ने गरेको स्थानीयको भनाइ छ ।

छाडा चौपायाकै समस्याका कारण केही दिन यता गोदावरी नगरपालिका समेत तनावग्रस्त बनेको छ । छाडा चौपाया व्यवस्थापनमा नगरपालिकाले कुनै काम नगरेको भन्दै आक्रोशित स्थानीयले भदौ ३ गते नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा ताला समेत लगाएका थिए । छाडा चौपायाको समस्याका कारण बढेको विवाद समाधानका लागि भदौ ५ गते गोदावरी नगरपालिकामा तालाबन्दी गर्ने सहितको सहभागितामा सर्वपक्षीय छलफल भए पनि उक्त छलफल समेत तनावग्रस्त बनेको थियो । नगरपालिकाले छाडा चौपायाको दिगो समाधानका लागि भदौ ११ गते पुनः प्रदेश सरकारका जनप्रतिनिधि सहित छलफल गर्ने जनाएको छ ।

गोदावरीमा छाडा चौपायाको समस्या समाधानका लागि प्रदेश सरकार र स्थानीय तहको लाखौँ रकम खर्च हुँदा पनि समस्या ज्यू का ज्यू रहेको छ । छाडा चौपायाका कारण किसानले राम्ररी खेती गर्न पाएका छैनन् भने सडकमा छोडिएका छाडा चौयापाका कारण दुर्घटना भएर मानिसले ज्यान समेत गुमाउनु पर्ने अवस्था रहेको छ ।