प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एलपी ग्यासको खपत, व्यवस्थापन र सुरक्षाका लागि आधुनिक प्रविधिको प्रयोग र प्रभावकारी ट्रयाकिङ प्रणाली लागू गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा समिति सभापति रहबर अन्सारीले ग्यास सिलिन्डरको लगत राख्ने र व्यावसायिक एवं घरायसी प्रयोजनका सिलिन्डर वर्गीकरण गर्न पनि निर्देशन दिएका हुन् ।


‘सिलिन्डरको उत्पत्ति कहाँ भयो, कहिले भरियो र यसको अन्तिम परीक्षण कहिले भयो भन्ने स्पष्ट जानकारी ट्रयाकिङ प्रणालीमार्फत थाहा हुनुपर्छ,’ उनले भने ।
समिति सभापति अन्सारीले आगामी १५ देखि २० वर्षसम्म एलपी ग्यासको सान्दर्भिकता कायम रहने भन्दै उनले आयल निगमलाई एक वर्षभित्र ग्यास वितरण र व्यवस्थापनका समस्या समाधान गरी प्रणालीलाई व्यवस्थित गर्न निर्देशन दिए ।
उनले कुरियर सेवामा पार्सल ट्रयाक गरेजस्तै ग्यास सिलिन्डरको पनि ट्रयाकिङ आइडीमार्फत निगरानी राख्न सकिने र यसले भुक्तानी प्रणालीलाई समेत व्यवस्थित बनाउने बताए ।
















