काठमाडौं । ‘ट्रस्को नाकायामा’ नामक जापानी कम्पनीले अत्यधिक गर्मीबाट जोगाउन मानिस बस्न मिल्ने विशेष फ्रिज बजारमा ल्याएको छ । कम्पनीले ‘डु हिएमोन बक्स’ नामको विशेष फ्रिज सार्वजनिक गरेको हो ।
चालु वर्षको सुरुदेखि बिक्री खुला गरिएको १५ लाख येन (करिब १४ लाख ४७ हजार रुपैयाँ) मूल्य पर्ने यो बुथ हालसम्म स्टील मिल, निर्माण क्षेत्र, गल्फ कोर्स, विश्वविद्यालय र मनोरञ्जन स्थलमा गरी करिब २०० थान बिक्री भइसकेको छ । जापानमा ग्रीष्मकालीन तापक्रम लगातार ३५ डिग्री सेल्सियस नाघ्न थालेपछि हिटस्ट्रोकको जोखिम न्यूनीकरणका लागि यो प्रविधि विकास गरिएको हो । द जापनिज टाइम्सका अनुसार चक्का जडान गरिएको यो अग्लो बक्स आकारको बुथलाई सामान्य विद्युतीय आउटलेट (प्लग) मा जोडेर चलाउन सकिन्छ । गत हप्ता कुमामोतोमा गएको भूकम्पपछि प्रभावित नागरिक बस्ने अस्थायी आश्रयस्थलमा पनि कम्पनीले यो फ्रिज पठाएको थियो ।


यो बक्स भित्रको तापक्रम १५ डिग्री सेल्सियस रहने र यसभित्र मानिस बस्नासाथ ५ डिग्री सेल्सियसको चिसो हावा प्रवाह हुने प्रणाली जडान गरिएको छ । यो बुथ आराम गर्ने प्रयोजनका लागि नभई गर्मीका कारण स्वास्थ्य बिग्रेका मानिसलाई तत्काल राहत प्रदान गर्नका लागि मात्र डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
ट्रस्कोका उत्पादन विभागका महाप्रबन्धक फुमियाकी मात्सुबाराका अनुसार यो बक्स आराम गर्नका लागि भन्दा पनि गर्मीका कारण स्वास्थ्य अवस्था गम्भीर हुन नदिनका लागि तयार गरिएको हो । मात्सुबाराले द जापनिज टाइम्सलाई भने, ‘हाम्रो अवधारणा आराम गर्ने ठाउँ दिनु भन्दा पनि स्वास्थ्य अवस्था खराब हुन नदिने उपकरण उपलब्ध गराउनु हो ।’
करिब एक अर्ब डलर बजार मूल्य र ३,३०० कर्मचारी रहेको ट्रस्को कम्पनीलाई यो प्रविधिका लागि जर्मनी र अमेरिकाबाट समेत सोधपुछ आएको छ । जापानमा कार्यस्थलमा हिटस्ट्रोक नियन्त्रण सम्बन्धी सरकारी नियम कडा बनाइएसँगै कार्यस्थल चिसो बनाउने उपकरणको माग वार्षिक रूपमा दोब्बर हुँदै गएको कम्पनीले जनाएको छ । आगामी दिनमा शपिङ मल, मेला–महोत्सव र भीडभाड हुने सार्वजनिक स्थलमा यसको माग बढ्ने कम्पनीको आँकलन छ ।


















