अत्तरिया – कैलालीको अत्तरिया चोकमा पानी जम्ने समस्या समाधानका लागि धमाधम नाला निर्माणको काम भइरहेको छ । मोहना–अत्तरिया ६ लेन सडक निर्माण पछि गहिरो बनेको चोकमा पानी जम्ने समस्या हुन थालेपछि अहिले उल्टो दिशामा पानी बगाउने गरी नाला निर्माण भइरहेको छ ।
६ लेन सडक निर्माण अघि उत्तरबाट दक्षिण तर्फ पानी बग्ने गरी नाला निर्माण गरिएको थियो । तर, चोकको दक्षिण क्षेत्रमा चोकभन्दा अग्लो हुने गरी ६ लेन सडक र नाला निर्माण गरिएपछि उत्तरबाट दक्षिण बग्ने नेचुरल बाटो थुनिन पुगेको थियो । जसले गर्दा विगत लामो समय देखि अत्तरिया चोकको पूर्व पट्टि पानी जम्ने समस्या रहँदै आएको छ ।

जसका कारण हाल सडक डिभिजन कार्यालय महेन्द्रनगरले उत्तर देखि दक्षिण बग्ने पानीको नेचुरल बाटोबाट पानी पठाउन सम्भव नभएपछि पश्चिमको पानी पूर्व तर्फ पठाउने गरी नाला निर्माण गरिरहेको छ ।
साइड इन्जिनियर प्रकाश खड्काले ६ लेन सडकको नाला अग्लो निर्माण गरिएकाले चोकको पानी दक्षिण तर्फ बगाउन सम्भव नभएको बताए । ‘नेचुरल रूपमा चोकको पानी धनगढी रोड मनहरा नदी तिर बग्नुपर्ने हो’ उनले भने ‘६ लेन सडक बनाउँदा ६ लेन सडकको नाला पहाड रोडको नाला सँग नमिलाएर निर्माण गरिएको छ । त्यसले अब त्यो नालामा पानी पठाउन सम्भव छैन ।’ उनले यसको दीर्घकालीन समाधानका लागि पूर्व तर्फ पानी बगाउन लागिएको बताए ।

चार महिना अघिको काम बेकाम
नालाको पानी निकास नहुने समस्याका बिच ४ महिना अघि मात्रै सडक डिभिजन कार्यालय महेन्द्रनगरले पुरानै जीर्ण नाला मर्मत गरेर ढक्कन राखेको थियो । पुरानो नालामा पानी जमेको भए पनि २३ लाख खर्च गरेर माथिबाट ढक्कन निर्माण गरिएको थियो । ढक्कन राखिए पनि नालाको पानी नबगेपछि पुनः अर्को ठेक्का मार्फत पुरानो नाला पुरेर हाल नयाँ नाला निर्माण गर्न लागिएको हो । यसरी पानी नबग्ने पुरानो नालामा ढक्कन राखेर ४ महिनामै भत्काइएपछि स्थानीयले विरोध समेत जनाएका छन् । यद्यपि सडक डिभिजन कार्यालयले भने ४ महिना अघि राखिएका ढक्कन नयाँ नालामा प्रयोग गरिने बताएको छ ।
सडक डिभिजन कार्यालयले हाल अत्तरिया चोकमा करिब ३५० मिटर नाला निर्माणका लागि सप्तऋषि कन्स्ट्रक्सन सँग ठेक्का सम्झौता गरेको छ । सम्झौता अनुसार धनगढी रोडको ६ लेन सडकको नाला देखि पूर्व रोडमा रहेको ट्राफिक पोस्ट अगाडि सम्म नाला निर्माण गर्ने गरी सम्झौता गरिएको छ । तर, पूर्व पट्टि पानी बग्ने गरी उक्त ठाउँमा सम्म मात्रै नाला निर्माण गरिदा बजारको पानी हालै निर्माण गरिएको खुला मैदानमा बग्ने भएकाले त्यस अघि कच्ची नाला निर्माण गरेर खोला सम्म पानी पठाउने योजना सडक डिभिजन कार्यालयको रहेको छ ।
अधुरो योजना
पानी जम्ने समस्या हाल नाला निर्माणको काम भइरहेको धनगढी रोड सँग जोडिएको पूर्व रोडमा मात्रै नभएर पहाड रोड सँग जोडिएको पूर्व रोडमा पनि विकराल छ । पहाड रोडबाट बग्ने पानीको निकास नहुँदा चोकमा पानी जम्मा हुने गरेको छ । तर, सडक डिभिजन कार्यालयले हाल गरेको ठेक्काको ३५० मिटर नाला मध्ये २४० मिटर नाला धनगढी रोड क्षेत्रमै निर्माण हुने भएकाले बाँकी करिब ९० मिटर मात्रै पहाड रोडमा निर्माण गरिने जनाएको छ । तर, त्यति मात्रामा मात्रै नाला निर्माण गरेर पहाड रोडको पानी निकास नहुने देखिएको छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले भने हाइवे सडकको मर्मतका लागि भनेर अर्को ठेक्का पनि खोलिएकाले आवश्यक परेमा त्यसबाट पनि काम गर्न सकिने जनाएको छ । हाल पहाड रोड र पूर्व रोडको नाला पनि पुरै जीर्ण बनेको छ । बसपार्क देखि ट्राफिक कार्यालय सम्मको उक्त नालाको लम्बाइ करिब ४३० मिटर रहेको छ ।

















