अत्तरिया – अघिल्लो निर्वाचनमा २ सिट जितेर सुदूरपश्चिममा प्रत्यक्षतर्फ चौथो बनेको नेकपा एमालेले भने यस पटक एक सिट थपेर तेस्रो बनेको छ । यद्यपि अघिल्लो निर्वाचनमा जितेका दुवै क्षेत्र भने एमालेले गुमाएको छ । दुवै क्षेत्रमा एमालेले पुरानै उम्मेदवारलाई निरन्तरता दिएको थियो ।

एमालेले २०७९ को निर्वाचनमा बैतडी र कञ्चनपुर १ मा जित निकालेको थियो । यस पटकको निर्वाचनमा भने एमालेले दुवै क्षेत्र गुमाएको छ । एमालेले गुमाएका दुवै क्षेत्रमा रास्वपाले झण्डा गाडेको छ ।
बैतडीमा एमालेबाट अघिल्लो निर्वाचनमा जित निकालेका दामोदर भण्डारी यस पटक पराजित हुन पुगेका छन् । अघिल्लो निर्वाचनमा ३३ हजार ६११ मत सहित विजयी भएका भण्डारीले यस पटक १७ हजार ९१ मत ल्याएर तेस्रो भए । यहाँबाट रास्वपाका हरिमोहन भण्डारी २२ हजार १ सय ३४ मत ल्याएर विजयी भएका छन् ।
कञ्चनपुर ३ मा एमालेबाट अघिल्लो निर्वाचनमा जित निकालेका तारा लामा पनि पराजित हुन पुगेका छन् । तामाङ अघिल्लो निर्वाचनमा २४,९४३ मत सहित विजयी भएका थिए । यस पटक भने उनी ८ हजार ४६७ मत सहित तेस्रो भएका छन् । यहाँबाट रास्वपाका जनकसिंह धामी २४ हजार ३३२ मत ल्याएर विजयी भएका छन् ।

अघिल्लो निर्वाचनमा जितेका २ क्षेत्र गुमाउँदा एमाले प्रदेशका नयाँ ३ क्षेत्रमा आफ्नो झण्डा गढ्न सफल भएको छ । एमालेले बझाङ, अछाम १ र दार्चुलामा जित निकालेको छ ।
बझाङमा एमालेका ऐन महर विजय भएका छन् । उनी अघिल्लो निर्वाचनमा कांग्रेसका दिलेन्द्र प्रसाद बडू सँग पराजित भएका थिए । अघिल्लो हारको भरपाई गर्दै यस पटक कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ लाई पराजित गर्दै महर विजयी भएका हुन ।
अछाम २ मा एमालेका यज्ञ बहादुर बोगटी निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा कांग्रेस पुष्पबहादुर शाह सँग पराजित भएका बोगटी यस पटक हारको बदला लिँदै विजयी भएका छन् । अघिल्लो निर्वाचनमा शाह २२ हजार ९५४ विजयी हुँदा बोगटी १६ हजार ११४ मत ल्याएर पराजित भएका थिए । यस पटक बोगटी ९ हजार ५१८ मत ल्याएर विजयी हुँदा शाह ९ हजार ४६ मत ल्याएर पराजित हुन पुगे ।
दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन् । अघिल्लो निर्वाचनमा कांग्रेसका दिलेन्द्र प्रसाद बडू सँग पराजित भएका ठगुन्ना यस पटक कांग्रेसका धर्मानन्द जोशीलाई पराजित गर्दै विजयी भएका छन् । ठगुन्ना १८ हजार ८९१ मत ल्याउँदै विजयी हुँदा जोशीले १५ हजार ८३६ मत ल्याएर पराजित भएका छन् ।

















