बैतडी– बैतडीमा भारतसँग जोडिएका सिमानाका तीन दिनका लागि बन्द हुने भएका छन । जिल्ला प्रशासन कार्यालय बैतडीले निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै यही फागुन १८ गतेदेखी २१ गतेसम्म सिमानाका बन्द गर्न थालेको हो ।

निर्वाचनलाई ध्यानमा राखेर फागुन १८ गते राती १२ बजेदेखी २१ गते राती १२ सम्म भारतसँग जोडिएका सिमानाका बन्द रहने प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए । उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सिमानाका बन्द गर्न थालिएको बताए ।

भारतसँग जोडिएको झुलाघाट नाकाका साथै तल्लोसोराड क्षेत्रमा महाकाली नदीसँग जोडिएका घाटहरु तीनदिन बन्द रहने प्रमुख जिल्ला अधिकारी थापाले बताए । चुनावको समयमा सीमा क्षेत्रबाट हुन सक्ने अवाञ्च्छित क्रियाकलापहरु रोक्नका लागि सीमा नाका बन्द गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी थापाको भनाई छ ।
निर्वाचन नजिक आएसँगै सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको स्थानीय प्रशासनले जनाएको छ ।
















