खाेज्नुहाेस

सुदूरपश्चिममा मतदाता शिक्षाका लागि ७ सय ३४ स्वयंसेवक परिचालन

Image

धनगढी – आगामी निर्वाचनलाई थप सहभागितामूलक, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रम सुदूरपश्चिम प्रदेशमा तीव्र पारिएको छ ।

बदर मतको प्रतिशत घटाउने र आम नागरिकलाई मताधिकारको महत्वबारे स्पष्ट जानकारी दिने लक्ष्यका साथ देशव्यापी रूपमा अघि बढाइएको अभियान यहाँ प्रत्येक वडासम्म विस्तार गरिएको छ । निर्वाचन आयोगको निर्देशनअनुसार प्रदेशका विभिन्न जिल्लामा ७ सय ३४ जना स्वयंसेवक परिचालन गरिएको छ । उनीहरू घरदैलोमै पुगेर मतदातालाई मतदान प्रक्रिया, मतपत्र प्रयोग गर्ने तरिका तथा स्वस्तिक छाप लगाउने सही स्थानबारे नमूना मतपत्रमार्फत अभ्याससहित जानकारी दिइरहेका छन् ।

attariya hospital
navjiwan hospital

प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले मतदाता शिक्षा प्रभावकारी बनाउन स्वयंसेवकहरूलाई आवश्यक तालिम तथा अभिमुखीकरण प्रदान गरिसकिएको जानकारी दिए । ‘यो महिनाको १ गतेदेखि स्वयंसेवकहरू खटिएका छन् । उनीहरू टोल–टोल र घर–घरमा पुगेर मतदाता शिक्षा दिइरहेका छन् । यसपटक विगतको तुलनामा बदर मत उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरेका छौँ,’ उनले बताए ।

मतदाता शिक्षा अभियानमा विशेषगरी महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा पछाडि परेका समुदायलाई प्राथमिकतामा राखिएको छ ।

विगतका निर्वाचनमा यिनै समूहमा बदर मतको संख्या तुलनात्मक रूपमा बढी देखिएको तथ्यांकलाई ध्यानमा राख्दै यसपटक लक्षित रूपमा सचेतना अभिवृद्धि गरिएको हो । हाल सुदूरपश्चिमका विभिन्न जिल्लामा स्वयंसेवकहरू टोल–टोलमा पुगेर मतदाता शिक्षा दिइरहेका छन् ।