खाेज्नुहाेस

कैलाली ४ का १० उम्मेदवारले एकै मञ्चमा सुनाए चुनावी एजेण्डा

Image

अत्तरिया – फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ४ का १० जना उम्मेदवारहरूले एकै मञ्च आफ्ना चुनावी एजेन्डा सुनाएका छन् । सोमबार अत्तरिया जेसिज २०२६ ले आयोजना गरेको प्रत्यक्ष संवाद कार्यक्रम (ककस) मा उम्मेदवारहरूले एकै मञ्चमा आफ्ना एजेन्डा सुनाएका हुन । ५ मिनेट भित्र आफ्ना एजेन्डा सुनाएका उम्मेदवारहरूले कार्यक्रममा सहभागीबाट सङ्कलन गरिएका लिखित र मौखिक प्रश्नको पनि जवाफ दिएका थिए ।

गोलापर्थाबाट पहिलो नम्बरमा एजेन्डा सुनाउने पालो पाएका नेपाल कम्युनिस्ट पार्टी संयुक्तका उम्मेदवार मोहन देव मिश्रले नेपाल भूराजनीतिको भयङ्कर चपेटामा फसेको बताउँदै नेपाल दुई ठुलो देशको प्रयोग हुन सक्ने बताए । उनले यसका लागि नेपालको लोकतन्त्र बलियो बनाउन आवश्यक रहेको बताए । उनले यसका लागि आर्थिक विकास गर्नुपर्ने बताए । ‘आर्थिक विकास भित्र सामाजिक विकासका कुरा समेटिएका हुन्छन्’ उनले भने ‘देशमै सुदूरपश्चिम पछाडि पारिएको क्षेत्र हो । यसको लागि यस क्षेत्रको अर्थतन्त्र विकास गर्न आवश्यक छ ।’

attariya hospital

उज्यालो नेपाल पार्टीका उम्मेदवार सुभाष कुँवरले शिक्षा स्वास्थ्यको विकासमा जोड दिए । उनले शिक्षाले मानिसको उच्चतम मूल्य पाउने बताए । उनले यसका लागि टेक्निकल र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए । उनले स्वास्थ्य क्षेत्रको विकासका लागि गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनु पर्ने बताए । उनले थारु समुदायको सिकलशेलको उपचारका लागि विशेष व्यवस्था गर्नुपर्ने बताए । उनले कृषिको राम्रो सम्भावना भएको बताउँदै यसका लागि उत्पादित बस्तुको ब्राण्डिङ गरेर अघि बढ्नुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खेम राज कोइरालाले सुशासन कायम गने, भ्रष्टाचार निर्मूल गर्ने र भ्रष्टाचार गरेकालाई कारबाही गर्ने आफ्नो प्रमुख एजेन्डा रहेको बताए । उनले आवश्यकता अनुसार कानुन संशोधन गर्ने, जनताका इच्छ्या आकाङ्क्षा पुरा नभए संविधान संशोधन गर्ने आफ्नो एजेन्डा रहेको बताए । सबै कामको उद्देश्य जनतालाई सुख प्रदान गर्नु भएकाले त्यसका लागि सामाजिक, भौतिक विकास गर्नुपर्ने बताए । उनले सामाजिक विकास अन्तरगत शिक्षा, स्वास्थ्य क्षेत्रको विकास गर्नु पर्ने बताए । उनले कृषि पर्यटन मार्फत सुदूरपश्चिममा रोजगारी सृजना गर्न सकिने बताए ।

राष्ट्रिय जनमोर्चाका उम्मेदवार हेम राज भट्टले सङ्घीय खारेज गर्नुपर्ने बताए । उनले प्रदेश संरचना खारेज गर्न सके स्वास्थ्य र शिक्षा निःशुल्क दिन सकिने बताए । उनले अहिलेको ढङ्गले चुनावमा जाने हो भने देशको विकास गर्न नसकिने बताए । उनले सुदूरपश्चिमको मेरुदण्ड पश्चिम सेती रहेको बताए । उनले कैलाली क्षेत्र नम्बर ४ का समस्या अत्तरिया बजार क्षेत्रका मात्रै नभएर सबै क्षेत्रका जनताका लागि हुनुपर्ने बताए । उनले देशको सीमा नाका, लिम्पियाधुरा, लिपुलेक, एमसिसी खारेजी आफ्नो एजेन्डा रहेको बताए ।

श्रम संस्कृति पार्टीका उम्मेदवार भीम बहादुर थापामगरले श्रम नगरे उत्पादन नहुने, उत्पादन नगरे बिक्रीका लागि बस्तु नहुने र बस्तु बिक्री नगरे पैसा नहुने बताए । उनले कति पुस्ता गफ गरेर काट्ने बताउँदै अब भने श्रम गर्ने व्यक्ति अगाडि बढ्नु पर्ने बताए । उनले माटो प्रतिको माया जोगाउनका लागि आफू चुनावमा उभिएको बताए । उनले आफू बिचार र औजार, चेतना र पसिनाको कान्तिको वाहन लिएर जनतामा आएको बताए । उनले आफूहरूले युवालाई तोडफोड आगजनी गर्न नभएर श्रम गर्न सिकाउने, सहर सुन्दर बनाउन सिकाउने, नयाँ नयाँ आविष्कार गर्न सिकाउने बताए ।

navjiwan hospital

नेकपा (माओवादी) का उम्मेदवार भक्त बहादुर शाहीले देश सङ्कटमा गुज्रिरहेको अवस्थामा आफूहरूको एजेन्डा पनि सर्वश्व सहित भ्रष्टाचारीलाई आजीवन कारावास हुनुपर्ने रहेको बताए । उनले आफूले कैलाली क्षेत्र नम्बर ४ मा १६ वटा बुँदाको एजेन्डा राखेको बताउँदै कृषिका समस्याका बारेमा जानकार रहेको बताए । उनले आफूले ६ बिगाहामा खेती गरेको बताउँदै कृषिका समस्या आफूले भोगेकाले जनताका समस्या पनि आफूले बुझेको बताए । उनले गेटा विश्वविद्यालय सञ्चालन गर्नुपर्ने बताए । उनले निर्वाचन स्वच्छ, भयरहित वातावरण सम्पन्न गर्नुपर्ने बताए । उनले राज्य जनताको पक्षमा हुनुपर्ने बताउँदै आफूहरूका सीमाका, एमसीसीका मुद्दामा सहित चुनावमा होमिएको बताए ।

नेकपा एमालेको उम्मेदवार लेखराज भट्टले देश सङ्कटमा भएकाले एमालेको पहिलो प्राथमिकता राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र स्वाभिमान रहेको बताए । उनले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाएर अघि बढ्ने, नेपाली जनताले ल्याएको संविधानमाथि प्रहार भएकाले त्यसको रक्षा गर्ने रहेको बताए । उनले सुदूरपश्चिमको सन्दर्भमा शिक्षा, स्वास्थ्य रोजगार प्रमुख प्राथमिकता रहेको बताए । उनले शिक्षा भन्दा पहिला संस्कारमा प्राथमिकता दिनुपर्ने बताए । उनले सुदूरपश्चिममा प्रारम्भ भएका सेती लोक मार्ग, महाकाली करिडोड, खुटियो दिपायल फास्ट ट्र्याक निर्माण, राजधानी निर्माण गर्ने काम प्राथमिकतामा रहने बताए । उनले भूमिहीनलाई समस्या, बाटो, खानेपानीका समस्या आफ्नो प्राथमिकता रहेको बताए । उनले गेटामा विश्वविद्यालय पूर्ण रूपमा सञ्चालन गर्ने, कृषिमा आधारित उद्योग निर्माण, दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण आफ्ना एजेन्डा रहेको बताए ।

नेपाल रिपब्लिक पार्टीका उम्मेदवार गोपी लाल चौधरीले श्रमजीवीका हक आफ्नो प्रमुख एजेन्डा रहेको बताए । उनले कृषिले आफ्ना उत्पादन नपाउने समस्या, बालबालिकाले पढ्न नपाउने, स्वास्थ्य सुविधा निःशुल्क पाउनुपर्ने आफ्नो माग गरेको बताए । उनले प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनुपर्ने आफूहरूको एजेन्डा रहेको बताए । उनले खेलाडीले नि शुक्ल प्रशिक्षण गर्न पाउनु पर्ने आफ्नो एजेन्डा रहेको बताए ।

राप्रपाका उम्मेदवार कमल बम रजबारले राष्ट्रियता र विकास र सुशासनको सवाल मुख्य मुद्दा रहेको बताए । उनले अहिले राष्ट्रियता कमजोर भएको बताउँदै राष्ट्रियतालाई अच्युत राख्न, देशलाई सनातन र राजा सहितको सहमतिमा चुनाव हुनुपर्ने आफूहरूको माग रहेको बताए । उनले सङ्घीयता खारेज हुनुपर्ने बताए । उनले कैलाली ४ मा आफूले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए । उनले यस क्षेत्रको भौतिक पुर्वाधार सुधार पनि आफ्नो प्राथमिकतामा रहने बताए । उनले प्रत्येक पालिकामा सम्भव भएसम्म १२० शय्याको अस्पताल हुनुपर्ने आफ्नो मान्यता रहेको बताए । उनले चुरेमा थुप्रै सम्भावना रहेको बताउँदै यहाँका सम्भावनाको उजागर गर्न आवश्यक रहेको बताए । उनले गोदावरी धामको पनि विकास आफ्नो एजेन्डा रहेको बताए ।

नेपाली कांग्रेसका उम्मेदवार गोरख बहादुर विष्ट (आनन्द) ले सबैको उद्देश्य कैलाली ४ लाई समृद्ध बनाउने रहेको बताउँदै यसका लागि पार्टी मात्रै नभएर सबैको सहभागिता हुन आवश्यक रहेको बताए ।
उनले यस क्षेत्र सुहाउँदो घोषणा पत्र ल्याइसकेको बताउँदै देश सुहाउँदो घोषणा पत्र केन्द्रबाट सार्वजनिक भइसकेको बताए ।

उनले आफू ठुला भाषण गरेर नेता नभएको बताउँदै यो देशलाई दुख्दा, देशलाई मर्का पर्दा सेवा गरिरहेको व्यक्ति भएको बताए । उनले अन्तर्राष्ट्रिय स्तरमा धेरै कुरा बुझेको व्यक्ति भएको बताउँदै उनले ती क्षेत्रका शिक्षा, स्वास्थ्यका नीति लागु गर्न लाग्ने बताए । उनले यही माटोमा हुर्केर उच्च शिक्षाका लागि मात्रै बाहिर गएको बताउँदै यस क्षेत्रका सम्भावना बारेमा आफू परिचित रहेको बताए । उनले यस क्षेत्रका सम्भावना उजागर गर्नका लागि सबै लागेर सम्भव हुने बताए । उनले रोजगारीको समस्या, थारुका समस्या, चुरे मोहन्यालका समस्या समाधान गर्न आवश्यक रहेको बताए ।

कैलाली क्षेत्र नम्बर ४ बाट १६ जना चुनावी मैदानमा उत्रिएको भए पनि ६ जना भने कार्यक्रममा अनुपस्थित रहेका थिए ।