बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय बैतडीले छुटेका नाम समावेश गरी अन्तिम नामावली प्रकाशन गरेको हो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले अस्थायी मतदाताहरुको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिए । उनले जिल्लामा २ हजार ७० जना अस्थायी मतदाता रहेको बताए । अस्थायी मतदाताले निर्वाचनमा समानुपातिक तर्फ मात्रै मतदान गर्न पाउने उनको भनाई छ ।

अस्थायी मतदातामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन सुरक्षामा खटिने प्रहरी, विभिन्न सरकारी कार्यालयका कर्मचारी, वृद्धा श्रममा रहेका व्यक्ति तथा कारागारमा रहेका थुनुवा र कैदीबन्दी समावेश गरिने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।
















