बैतडी– बैतडीमा अझै आधा भन्दा बढी इजाजत प्राप्त हातहतियार स्थानिय प्रशासनलाई बुझाउन बाँकी रहेको छ । जिल्लामा १ हजार ८६ थान हातहतियार इजाजत प्राप्त रहेकामा अझै आधा भन्दा बढी स्थानिय प्रशासनलाई बुझाउन बाँकी रहेको देखिएको हो ।

जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार हालसम्म जिल्लामा ४०७ थान हातहतियार बुझाईएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जिल्लामा अझै आधा बढी हातहतियार बुझाउन बाँकी रहेको बताए । उनले बाँकी हतियार बुझाउन सम्बद्ध व्यक्तिसँग आग्रह गर्दै निर्धारित समयभित्र त्यसो नगरे कारबाही हुने चेतावनी दिएका छन् ।

कार्यालयले यही फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै इजाजत प्राप्त हातहतियार प्रशासनमा बुझाउन आग्रह गरेको थियो । प्रशासनको आग्रह बमोजिम हालसम्म ४०७ हातहतियार बुझाईएको भएपनि अझै ६७९ हातहतियार बुझाउन बाँकी रहेका छन । प्रशासनलाई बुझाइएका सबै हातहतियार र गोलीगठ्ठा चैत २० गतेपछि सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने जनाइएको छ ।
















