अत्तरिया– नेकपा एमाले कैलाली क्षेत्र नं. ४ ले निर्वाचन लक्षित विभिन्न कमिटिहरु गठन गरेको छ । आसन्न फागनु २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै एमाले कैलाली क्षेत्र नं. ४ ले मुल परिचालन सहितका कमिटिहरु गठन गरेको हो ।
बिहिबार कैलाली क्षेत्र नं. ४ की संयोजक तथा केन्द्रिय सदस्य सन्तोष शर्मा थापाको अध्यक्षतामा र एमालेका केन्द्रिय उपमहासचिव तथा एमालेका तर्फबाट कैलाली क्षेत्र नं. ४ मा प्रतिनिधि सभाका उम्मेदवार लेखराज भट्टको प्रमुख आतिथ्यमा बैठक बसेको थियो ।


बैठकले निर्वाचनलाई लक्षित गर्दै मुल परिचालन कमिटि, निर्वाचन मुल परिचालन सचिवालय सदस्य कमिटि सहित अन्य उपसमितिहरु गठन गरेको हो । बैठकले क्षेत्रिय संयोजक थापाकै संयोजकत्वमा १ हजार ८९५ सदस्यीय मुल परिचालन कमिटि गठन गरेको छ । जसको उपसंयोजकमा नेकपा एमालेकी प्रदेश कमिटि उपसचिव भागरती बिष्ट र सदस्य सचिवमा क्षेत्र नं. ४ का संयोजक तथा जिल्ला कमिटि सचिवालय सदस्य गणेश जिमि साउँद रहेका छन ।
त्यसैगरी क्षेत्रिय संयोजक थापाकै संयोजकत्वमा बैठकले ४५ सदस्यीय निर्वाचन मुल परिचालन सचिवालय सदस्य कमिटि गठन गरेको छ भने क्षेत्र नं. ४ मा रहेका ३० वटै वडाहरुमा वडा संयोजक तोकेको छ ।
बैठकले आर्थिक उपसमिति, युवा परिचालन उपसमिति, प्रचार प्रसार उपसमिति, सूचना प्रविधि उपसमिति र सांस्कृतिक उपसमिति पनि गठन गरेको छ । आर्थिक उपसमितिमा गणेश जिमि साउँदलाई संयोजक बनाईएको छ । उनको संयोजकत्वमा ६ सदस्यीय आर्थिक उपसमिति गठन गरिएको छ । त्यस्तै युवा परिचालन उप समिति को जिम्मेवारी बालकृष्ण प्रसाईलाई दिईएको छ भने प्रचार प्रसार उपसमितिको जिम्मेवारी पत्रकार धुर्व ओझालाई दिईएको छ । बैठकले उत्तम महरालाई सूचना प्रविधि उपसमितिको र दिर्घ फुलारालाई सांस्कृतिक उपसमितिको जिम्मेवारी दिएको छ ।
बैठकले कार्यालय व्यवस्थापन तथा प्रचार प्रसार सामग्री उप समिति पनि गठन गरेको छ । ३ सदस्यीय समितिको संयोजकमा हितेश ओझालाई तोकिएको छ ।
















