धनगढी – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेश सरकार अस्थिरता, निष्क्रियता र दिशाहीनताको खाडलमा फसेको आरोप लगाएको छ । सुदूरपश्चिम प्रदेश सभाको ठूलो दल नेकपाले बुधबार पत्रकार सम्मेलन गर्दै दलका नेता खगराज भट्टले सरकारको दोस्रो कार्यकालको आधा अवधिभन्दा बढी समय समाप्त हुँदा पनि दिशाहीनताको खाडलमा फसेको बताए ।
‘सरकारबाट अपेक्षित कामहरू कछुवा गतिमा मात्र होइन, कतिपय अवस्थामा पूर्ण रूपमा ठप्प देखिएका छन्,’ भट्टले भने, ‘आज सरकार चिर निन्द्रामा रहेको अवस्था छ । न त विकास खर्चले गति लिएको छ, न त जनताले सरकारको उपस्थिति अनुभूति गर्न पाएका छन् । यस्तो अवस्थामा वर्तमान नेतृत्वले सरकार चलाइरहनु भनेको प्रदेशलाई अझै पछि धकेल्नु हो भन्ने हाम्रो ठहर छ ।’

प्राकृतिक विपत्ति, दुर्घटना वा संकटका बेला सरकारले विज्ञप्ति जारी गर्ने र राहतको नाममा केही रकम घोषणा गर्नेबाहेक कुनै ठोस काम गर्न नसकेको आरोप नेकपाको छ । ‘बैतडी बस दुर्घटनाको छानबिनसम्म गर्न नसक्ने सरकारबाट वर्षौंदेखि भूकम्प, बाढी, आरक्ष र पहिरो पीडितहरूको पुनस्र्थापना हुने अपेक्षा गर्नु भनेको दिवास्वप्न देख्नुजस्तै हो,’ भट्टले भने । कानुन निर्माण, योजना कार्यान्वयन, प्रशासनिक सुधार र सुशासनका सवालमा पनि सरकार पूर्णतः असफल देखिएको नेकपाले आरोप लगाएको छ ।

वर्तमान सरकार प्रदेश राजधानी कार्यान्वयनमा पूर्ण असफल भएको, आवश्यक कानुन निर्माण गर्न नसकेको, बजेट कार्यान्वयनमा असफल भएको, मुख्यमन्त्री कार्यालयदेखि मन्त्रालयसम्म व्यापक बेथिति मौलाएको, अस्पतालहरूमा नियुक्ति ढिलाइ भएको र संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम गर्न असफल भएको अभियोग नेकपाले सुदूरपश्चिम सरकारलाई लगाएको छ ।
यस्तै, नीति आयोगमा चरम बेथिति मौलाएको, आयोजना नै नभएको लगानी सम्मेलनको नाममा अपारदर्शी र मनपरी खर्च गरेको, सर्वोच्च अदालतका आदेश कार्यान्वयनमा आलटाल गरेको, अस्थायी कार्यालय खोली मनमौजी खर्च गरेको, ऐन नबनाई गठन आदेशलाई प्राथमिकता दिएको र समग्र रूपमा सुशासन, पारदर्शिता र जवाफदेहिताको अभाव रहेको अभियोग पनि लगाइएको छ । १२ बुँदे अभियोगहरूप्रति सरकार गम्भीर बन्नुपर्ने पनि नेकपाको धारणा छ ।
तीन दल मिलेपछि पनि सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार भने सुरक्षित छ । नेकपा २१ सांसदसहित प्रदेशसभामा ठूलो दल छ । उसका एक जना प्रदेशसभा सदस्य निलम्बित छन् ।
५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । कांग्रेससंग १८ सांसद छन् भने ११ सांसद भएको एमाले पनि कांग्रेस नेतृत्वको सरकारमा छ ।
















