कञ्चनपुर– फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आचारसंहिता पालना गर्न आग्रह गरिएको छ । निर्वाचन नजिकिदै जाँदा जिल्लामा निर्वाचन आचारसंहित विपरित सरकारी सवारी साधन दुरुपयोग भएको भन्ने गुनासो आएपछि सम्बन्धीत निकायले आचार संहिता पालना गर्न आग्रह गरेको हो ।

निर्वाचन आचारसंहिता, २०८२ लागू भइसकेको अवस्थामा आचारसंहिता विपरित सरकारी सवारी साधन प्रयोग भईरहेको गुनासो आएपछि अनुगमन तीब्र बनाईएको जिल्लाका निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मोहनचन्द्र जोशीले जानकारी दिए ।

उनले सरकारी सवारीसाधन राजनीतिक गतिविधिमा प्रयोग गरिएको गुनासो आएकोले त्यसो नगरी आचारसंहिताको पालना गर्न आग्रह गरे ।
जनप्रतिनिधि तथा कर्मचारीले प्रयोग गर्ने चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सरकारी सवारीसाधन कार्यालयको नियमित कामकाज बाहेक राजनीतिक कार्यक्रम, जुलुस, सभा, प्रदर्शन तथा अन्य सार्वजनिक गतिविधिमा प्रयोग नगर्न उनले आग्रह गरे ।
आचारसंहिता उल्लङ्घनका गतिविधिमाथि निरन्तर निगरानी भइरहेको उनको भनाइ छ ।



















