कञ्चनपुर– कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ । जिल्लाको लालझाँडी गाउँपालिका–६, ढक्का चानदेवमा जङ्गली हात्तीको आक्रमणबाट ६ वर्षीया रोजिना साउँदको मृत्यु भएको हो ।

शनिबार राति करिब २ः३० बजे जङ्गली हात्ती स्थानीय किसन सिंह साउँदको घरमा प्रवेश गरी आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घरबाट ज्यान जोगाउन भाग्ने क्रममा साउँदकी ५५ वर्षीया आमा पार्वती साउँद र ६ वर्षीया छोरी रोजिनामाथि हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते दुवै जनालाई उपचारका लागि टीएनडी अस्पताल झलारी लगिएको थियो । अवस्था थप गम्भीर भएपछि राति नै धनगढी रेफर गरिएकोमा ६ वर्षीया रोजिनाको नवजीवन अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए । पार्वती साउँदको अवस्था मध्यम रहेको उनले बताए । निकुञ्ज क्षेत्रबाट बस्तीमा प्रवेश गर्ने जङ्गली हात्तीका कारण स्थानीयवासी त्रसित बनेका छन् ।
















