धनगढी– कैलाली क्षेत्र नं. ५ मा नेकपा (एमाले) का तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार यज्ञराज ढुंगानाले प्रतिबद्वता पत्र सार्वजनिक गरेका छन् । शनिबार धनगढीको सिद्वार्थ कटेजमा ढुंगानालो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन । प्रचारप्रसार उपसमितिले आयोजना गरेको कार्यक्रममा उनले मुख्य ८ बुँदामा आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका थिए ।

जसमा सूचना प्रविधि र डिजिटल विकास, शिक्षा र स्वास्थ्य सुधार, सुशासन र पारदर्शिता, युवा सीप र रोजगारी, कृषि र स्थानीय अर्थतन्त्र, पूर्वाधार र शहरी विकास, सामाजिक न्याय र भूमि अधिकार र महिला, बालबालिका र ज्येष्ठ नागरिक रहेका छन । सुचना प्रविधिमा उनले सबै वडामा द्रुत र भरपर्दो इन्टरनेट सेवा विस्तार, विद्यालय र स्वास्थ्य संस्थामा निःशुल्क वाइफाइ, डिजिटल साक्षरता तालिम, आईटी हब तथा टेक्नोलोजी पार्क स्थापना गर्ने योजना अघि सारेका छन् । धनगढीलाई महानगरपालिकामा स्तरोन्नति गरी ‘डिजिटल महानगर’ बनाउने लक्ष्य पनि उनले राखेका छन् । शिक्षा र स्वास्थ्य सुधारमा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउदै निजी अस्पतालमा लागू गर्न पहल गर्ने, सेती प्रादेशिक अस्पताललाई संघीय सरकार मातहत ल्याएर स्तरोन्नति गर्ने, सहिद दशरथचन्द स्वास्थ विज्ञान विश्वविद्यालयमा एमबीबीएस अध्ययन र ६०० शैयाको अस्पताल सञ्चालन गर्ने, विद्यालयमा डिजिटल कक्षा सञ्चालन गर्न भूमिका खेल्ने लगायत रहेका छन ।

त्यसबाहेक थारू समुदायमा देखिएका सिकलसेल लगायत दीर्घरोग उपचारका लागि छुट्टै वार्ड सञ्चालन गर्ने योजना पनि उनले स्वास्थ्यमा समावेश गरेका छन । त्यस्तै सुशासन र पारदर्शिता सार्वजनिक सेवामा पारदर्शिता, डिजिटल गुनासो व्यवस्थापन प्रणाली, प्रत्येक तीन महिनामा जनतासँग प्रत्यक्ष संवाद तथा भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्ने उनले बताएका छन् । युवा, सीप र रोजगारीमा उनले सीपमूलक तालिम केन्द्र स्थापना, स्टार्टअप कर्जा विस्तार, ‘एक युवा–एक रोजगार’ अभियानमार्फत पाँच वर्षमा पाँच हजार रोजगारी सिर्जना गर्ने योजना अघि सारेका छन । कृषि र स्थानीय अर्थतन्त्र शिर्षकमा ढुंगानाले कृषिको आधुनिकीकरण, सिँचाइ विस्तार, कृषि बीमा, खाद्य प्रशोधन उद्योग स्थापना, भूमिहीन र सुकुम्बासीलाई लालपुर्जा वितरणलाई प्राथमिकता लगायतका योजना समावेश गरेका छन ।
धनगढी–खुटिया–दिपायल सडक चार लेन, धनगढी विमानस्थल स्तरोन्नति, नदी नियन्त्रण, पक्की पुल निर्माण, फाप्ला क्रिकेट रंगशाला र ‘एक घर–एक धारा’ खानेपानी लगायतका योजना उनले पूर्वाधार र शहरी विकास शिर्षकमा राखेका छन । त्यस्तै सामाजिक न्याय र भूमि अधिकार शिर्षकमा सामाजिक सुरक्षा कार्यक्रम सबै श्रमिकमा विस्तार, दलित, महिला, थारू, जनजाति र सीमान्तकृत समुदाय सशक्तीकरण तथा भाषा–संस्कृति संरक्षण अभियान सञ्चालन लगायतका योजना रहेका छन भने महिला, बालबालिका र ज्येष्ठ नागरिक शिर्षकमा महिलाका लागि उद्यमशीलता कोष, निःशुल्क स्वास्थ्य परीक्षण, बालमैत्री विद्यालय, छात्रवृत्ति, बालश्रम नियन्त्रण तथा ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्ने योजना समेटेका छन ।
















