डडेल्धुरा – राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध सागर ढकालले डडेलधुरा पुगेर माफी मागेका छन् । रास्वपावरिष्ठ नेता बालेन्द्र साहसँगै सुदूरपश्चिम पुगेका उनले डडेलधुरामा खिचिएको तस्बिर फेसबुकमा राखेर डोटेली भाषामा माफी मागेका हुन् ।
‘डडेल्धुराका मान्छेहरूलाई धेरैधेरै धन्यवाद । तपाईंको १३ हजार ४२ मतले अब यो देश बनाउन लाग्या छ । ठूला सपना देख्दा साना–साना गल्ती हुन सक्छन्, माफ गरिदिनु होला’, उनले भनेका छन् ।

सागरले डडेलधुराबाट गुल्मी गए पनि भेट हुने बताएका छन् । ‘तपाईंको माया कहिल्यै नभुलुँला । डडेलधुराबाट गुल्मी जान लागेको छु, फेरि छिट्टै भेटौँला’, उनले भनेका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सागरले नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवालाई चुनौती दिएका थिए ।

चुनाव प्रचारका क्रममा उनले धेरै खर्च भएको प्रसंग गुल्मीमा सुनाएका थिए । ‘पहिलो पटक डडेलधुरा गएँ । सुरुको दिन ४०–५० जना केटाहरू हुरूरू गर्दै बाइकमा । पहिलो दिन स्वागत गर्ने भनेर आए,’ ढकालले भिडिओमा भनेका छन्, ‘म त माछा मासु केही पनि खादिनँ । स्लिपिङ ब्याग राखेर भुइँमै सुतिदिन्छु, धेरै राम्रो होटेल पनि चाहिँदैन । सामान्य दालभात तरकारी मात्रै खाएको हो, कति न होला, हजार–पन्ध्र सय भनेको ! बिहान उठ्दा त बिल ४०–५० हजार !’
त्यत्रो पैसा कसरी आयो भनेर आफू छक्क परेको उनले अगाडि भनेका छन् । ‘कहाँबाट आयो यत्रो पैसा ? त्यहाँ त सबै बसेर मासु, बियर खाएका रहेछन्,’ ढकालले भनेका छन् । त्यसपछि आफूले ‘कोही पनि चाहिँदैन । एक्लै हिँड्छु’ भनेर पठाइदिएको भनेका छन् । ‘पछि चुनावभर एउटा बाइकमा दुई जना मात्रै बसेर प्रचार ग¥यौँ,’ ढकालले भनेका छन् ।
उनको सो भिडिओबारे अहिले सामाजिक सञ्जालमा उनको चर्को टीकाटिप्पणी भइरहेको छ । उनलाई समर्थन गरेकाहरू कसले त्यसो गरेको हो ? भनेर खुलाउन माग गरिरहेका छन् भने, विपक्षीहरूले सुदूरपश्चिमलाई बद्नाम गरेको भनेर आलोचना गरिरहेका छन् ।
अघिल्लो चुनावमा स्वतन्त्र उम्मेदवार बनेका उनले डडेल्धुराबाट १३ हजार ४२ मतसहित देशभर चर्चा बटुलेका थिए । यस पटक उनी गृहजिल्ला गुल्मी–१ बाट उम्मेदवार छन् ।
















