बैतडी– बैतडीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका तेज बहादुर चन्दले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका चन्दले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा पूर्व महाधिवेशन प्रतिनिधि समेत रहेका चन्दले यसअघि सामाजिक सञ्जालबाट आफूले नेपाली कांग्रेस त्यागेको घोषणा गरेका थिए ।

दलगत राजनीति त्यागेर स्वतन्त्र रूपमा नयाँ राजनीतिक रूपमा अघि बढ्ने बताउँदै चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताएका थिए । तर अहिले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । अब जिल्लामा एक स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी कायम भएको छ ।

















