धनगढी– कैलालीमा स्वतन्त्र उम्मेदवारी दिएका मोहन सिँ राठौर र जनकराज पाठकले उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार तोकिएको उम्मेदवारी फिर्ता लिने समयमा दुवै जनाले आ–आफ्नो निर्वाचन क्षेत्रबाट उम्मेदवारी फिर्ता लिएका हुन ।

राठौरले कैलाली क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए भने पाठकले कैलाली क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनीहरू दुवैले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा आफूले उम्मेदवारी फिर्ता लिएको बारे पत्र पठाएका थिए । सोही कारण निर्वाचन कार्यालयहरूले उम्मेदवारी सूचिबाट हटाएको जानकारी गराएको छ ।

कैलाली क्षेत्र नम्बर २ बाट उम्मेदवारी लिएका ७२ वर्षका राठौर २०५६ सालको आम निर्वाचनमा क्षेत्र २ बाट नेकपा एमालेबाट चुनावमा उठ्दा पराजित भए । फेरि २०६४ सालको संविधान सभा निर्वाचनमा नेकपा एमालेबाट उठेका पुनः पराजित भए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा कैलाली– २ मा नेकपा एमालेबाट चुनाव जितेका उनी २०७४ सालको प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए । नेपाली कांग्रेसबाट यही क्षेत्रमा चुनाव उठेका उनी पराजित भए ।
यस्तै २०७९ सालको प्रतिनिधि सभाको चुनावमा यहाँ माओवादी र नेपाली कांग्रेसको गठबन्धन हुँदा माओवादीका उम्मेदवारलाई कांग्रेसले समर्थन गरेको थियो । अहिलेको चुनावमा भने उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए तर फिर्ता लिए । यस्तै क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएर फिर्ता लिएका जनकराज पाठक पेसाले अधिवक्ता हुन् । उनी धनगढीका बासिन्दा हुन् ।

















