कैलाली– कैलाली क्षेत्र नम्बर ५ मा प्यारेलाल रानाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । गत वैशाखमा साधारण सदस्य समेत नरहने गरी नेपाली कांग्रेस पार्टी परित्याग गरेका उनले फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन ।

उनले मुख्य निर्वाचन अधिकृत कार्यालयमा बिहान १० बजे उम्मेदवार दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत भुवनसिंह थापाले जानकारी दिए । उनी नेपाली कांग्रेसका नेता तथा पूर्व संविधान सभा सदस्य पनि हुन ।

कांग्रेस पार्टी परित्याग गरे पनि आफू गणतन्त्रवादी र धर्मनिरपेक्षताको पक्षपाती रहेकोले सबैभन्दा पहिले आफू जनतामाझ जाने र त्यसपछि कुनै पार्टीसँग सहकार्य गर्ने उनले बताएका थिए । तर तत्काल कुनै दलमा प्रवेश गर्ने सोच नभएको उनको भनाइ थियो । उनले यस पटक रानाथारु समुदायको पकड क्षेत्र मानिने कैलाली ५ मा आफ्नो जित सुनिश्चित रहेको बताए ।
















