धनगढी – नेकपा एमालेले सुदूरपश्चिमका दुई निर्वाचन क्षेत्रका उम्मेदवार हेरफेर गरेको छ । निर्णय भएको १२ घण्टा नपुग्दै नाम फेरिएका छन् । शनिबार बसेको सचिवालय बैठकले बझाङमा अफिलाल ओखेडा र कञ्चनपुर–१ मा कमला बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, अहिले दुवै उम्मेदवारलाई ब्याक गर्दै पार्टीले यी दुई स्थानमा नयाँ उम्मेदवारलाई टिकट दिइएको हो । बझाङमा ऐन महरले र कञ्चनपुर १ मा तारालामा तामाङले टिकट पाएका छन् ।

अघिल्लो निर्वाचनमा कांग्रेस, माओवादी र नेकपा सहितको गठबन्धनविरुद्ध निर्वाचन लडेका महर ९ सय ९८ मत अन्तरले पराजित भएका थिए । यो परिणाम सुदूरपश्चिम प्रदेशका सबै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम मत अन्तरको हार हो । तत्कालीन नेकपा (एस) का भानुभक्त जोशीले २८ हजार १ सय ४३ मत प्राप्त गर्दा महरले २७ हजार १ सय ४५ मत पाएका थिए ।

कञ्चनपुर क्षेत्र नम्बर १ मा तामाङले गठबन्धनका उम्मेदवार नेकपा(माओवादी केन्द्रकी बिना मगरलाई ४ हजार ९११ मत अन्तरले पराजित गरेका थिए । तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा बिना मगरले १६ हजार ५८ मत प्राप्त गरेकी थिइन् । बझाङमा महर र कञ्चनपुर– १ मा तामाङ दुवै लोकप्रिय उम्मेदवार हुन् । यस अघि उम्मेदवार ठीक ढंगले चयन नभएको भन्दै एमाले पार्टी भित्र नै व्यापक विरोध भएको थियो ।
















