अत्तरिया– कैलालीको गोदावरी धामलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा लिने गरिन्छ । उक्त धाम धार्मिक पर्यटकीय क्षेत्रका दृष्टिकोणले सुदूरपश्चिमकै मुख्य गन्तव्यका रूपमा पनि रहेको छ । प्रदेशकै धेरै दर्श नार्थी पुग्ने धार्मिक स्थलका रूपमा समेत यसलाई लिन सकिन्छ । २०७२ सालमा गोदावरीमा महाकुम्भ मेला लागेयता यहाँ माघे सङ्क्रान्तिमा दर्शनार्थीको चाप बढी हुन्छ । गोदावरी धाम विकास समितिले पहिलो पटक गोदावरीमा महाकुम्भ मेला लगाउँदा यस क्षेत्रको व्यापक प्रचारप्रसार गरेको थियो । त्यसपछि यस क्षेत्रले पछि फर्कनु परेको छैन । तर, गोदावरीको प्रचारप्रसारसँगै यहाँ च्याउझैँ विभिन्न समितिहरू उम्रिन थालेपछि हाल गोदावरी धाम बेलगाम जस्तै बन्न पुगेको छ ।
यहाँ आफूखुसी मन्दिर निर्माण, मन्दिर पिच्छे समिति र समिति पिच्छे आ–आफ्ना कार्यक्रम सञ्चालन हुन थालेका छन् । प्रत्येक वर्ष माघ १ गते लाग्ने मेलामा पनि त्यसको झल्को देखिन्छ । मेलामा गोदावरी धाम विकास समितिले गोदावरी धाम वारी बाह्र राशि दर्शन मकर मेला आयोजना गर्दा पारि पञ्च दशनाम जुना अखडा शिव भगवती मन्दिर गोदावरी तिर्थधामले छुट्टै कार्यक्रम आयोजना गर्ने गरेको छ ।

प्रत्येक वर्ष यसरी विभिन्न समितिहरूले गोदावरी धाममा छुट्टाछुट्टै कार्यक्रमहरू गर्दा यहाँको गरिमा र यहाँको विकासमा नकारात्मक असर पर्ने गरेको छ । विभिन्न संरचनाहरू निर्माणका लागि बजेट आउने गरेको भए पनि समितिहरूले छुट्टाछुट्टै रूपमा माग गर्दा भनेजस्तो कार्य नहुने गरेको गोदावरी धाममा रहेको महन्त तुल्छी गिरीजी महाराज बताउँछन् । उनले गोदावरीमा वृहत् गोदावरी धाम विकास समिति बन्नुपर्ने बताए । उनले करिब ६० वर्ष अघि देखी नै गठन भएको समितिसँग कुनै समन्वय नै नगरी गोदावरी धाममा वारी र पारीको द्वन्द्व चलाइरहेको बताए ।

‘यहाँ वारी पारी भन्ने बनाइरहेका छन्, पैसा त गोदावरी धामका लागि विभिन्न क्षेत्रबाट आइरहेको छ’ उनले भने ‘तर बाहिरका नचिन्नि मान्छे आएर, गुरुयोजना बनाएर अन्धाधुन्ध पैसा चलाइरहेका छन् ।’ उनले यसरी वारिपारि भनेर द्वन्द्व चलाएकै कारण गोदावरी धामको विकास हुन नसकेको बताए । उनले आफू सन्न्यासी भए पनि यहाँको अवस्था देखेर आफू बोल्न बाध्य भइरहेको बताए । ‘म सन्न्यासी हु, मैले बोल्न मिल्दैन’ उनले भने ‘तर यो ठाउँको अवस्थाका कारण बोल्न बाध्य बनेको छु ।’ उनले आफूले बोल्दा पागलको समेत संज्ञा पाइरहेको बताए । उनले गोदावरीमा वृहत् गोदावरी धाम विकास समिति बने त्यसले सो क्षेत्रको मुहार फेरिने समेत बताए ।
उता नगरपालिकाले भने पटक पटक समग्र गोदावरीको विकासका लागि समिति बनाउने बताउँदै आएपछि अझै कार्यान्वयनमा ल्याउन सकेको छैन ।
नगरपालिकाले समिति निर्माणका लागि कार्यविधि बनाएर नगर बोर्डबाट पास गरेको भए पनि कार्यान्वयनमा आउन सकेको छैन । यस्तै यसको समग्र विकासका लागि ५४ करोड लागतको डिपिआर समेत निर्माण गरेर हाल नगरपालिकामा थन्किएको छ ।
यद्यपि गोदावरी धाम विकास समितिले पुस ३० गते उद्घाटन गरेको बाह्र राशि दर्शन मकर मेलामा बोल्दै नगरप्रमुख वीरेन्द्र भट्टले समग्र गोदावरीको विकासका लागि सबै समितिलाई समेटेर गोदावरी धाम विकास समिति बनाउने आफ्नो पुरानै कुरा दोह¥याएका थिए ।
















