डडेल्धुरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सागर ढकालले पुनः डडेल्धुराबाटै चुनाव लड्ने बताएका छन । २०७९ सालको संसदीय निर्वाचनमा डडेल्धुराबाट पूर्वप्रधानमन्त्री एवं कांग्रेस नेता शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका उनले आसन्न प्रतिनिधि सभा निर्वाचनमा पुनः डडेल्धुराबाटै चुनाव लड्ने बताएका हुन ।

ढकालले आगामी चुनावमा डडेल्धुराबाटै चुनावी प्रचार–प्रसार सुरु गर्ने र पार्टीको सम्पर्क समितिसँग मिलेर युवाहरूलाई सक्रिय पार्ने तयारी थालेको बताए । उनले निर्वाचनका लागि पार्टीबाट आधिकारिक निर्णय नआए पनि आफ्नो उम्मेदवारी लगभग निश्चित रहेको स्पष्ट पारेका छन् । उनले मतदातासँग निरन्तर सम्पर्कमा रहेको र स्थानीय जनताको योगदानलाई महत्व दिँदै चुनावी तयारी अघि बढाएको पनि जानकारी दिए ।

२०७९ को निर्वाचनमा डडेलधुराबाट चुनाव लडेका उनले १३ हजार ४२ मत प्राप्त गरेका थिए । तर देउवाले २५ हजार ५३४ मत ल्याएर विजयी भएका थिए । त्यसबेला स्वतन्त्र उम्मेदवार बनेका ढकाल अहिले रास्वपा पार्टीमा प्रवेश गरेका छन ।



















