अत्तरिया– कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभुत विद्यालयमा भुकम्प सुरक्षा दिवसका अवसरमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । विद्यालयमा रहेका विद्यार्थीहरु र अभिभावकहरुको उपस्थितिमा विद्यालयले कार्यक्रमको आयोजना गरेको हो ।
सो कार्यक्रमका गोदावरी नगरपालिकासँगको समन्वय, राष्ट्रिय अपाङ्गता महासंघ नेपाल सुदूरपश्चिम प्रदेशसँगको सहकार्य र आई.एन.एफ. नेपालको सहयोगमा आयोजना गरिएको थियो । विद्यालयकी अध्यक्ष बिष्णा देवी बोहराको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका– २ का वडासदस्य डबल बहादुर साउँद रहेका थिए । कार्यक्रममा बोल्दै उनले भुकम्पलाई मात्रै विपद् नभनी मानविय स्वास्थ्यमा रहेको अफ्यारोपनलाई पनि विपद् भनिने बताए ।

उनले मानव स्वयम् आफ्नो शरिरमा विपद् सहेर बसेको अवस्था रहेको बताए । उनले त्यस्ता व्यक्तिहरुको विपदको समाधान तिर पनि लाग्नुपर्ने बताए । ‘विपद आउनुपुर्व सूचना लिएर विपद्बाट कसरी बच्न सकिन्छ भन्ने कुरा एउटा हो’ उनले भने ‘तर विपद्मा परिसकेपछि त्यसको जिवनलाई कसरी सहज बनाउन सकिन्छ, समाजमा सहज रुपमा बाच्नका लागि कसरी उसलाई अगाडी बढाउन सकिन्छ भन्ने विषयमा पनि ध्यान दिईनुपर्छ ।’

उनले शरिरमा विपद बोकेर बसेको मानिसको जिविकोपार्जन, शिक्षा, आर्थिक व्यवस्थादेखी जीवनमा आईपर्ने धेरै ठुला विपद्हरुसँग जुझ्नका लागि पनि साथ, हौसला र सहयोग सबै क्षेत्रबाट हुनुपर्ने बताए । उनले त्यस्ता व्यक्तिहरुलाई सामाजिक स्तरमा माथी उठाउन नसकेसम्म उनिहरुको जिवन विपद्मा रुमल्लिरहने समेत बताए ।
२८औ राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा गोदावरी नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख गोदावरी धामी, विपद् व्यवस्थापन शाखा प्रमुख सुलोचना खड्का, आई.एन.एफ का परियोजना सहजकर्ता विजय कुमार परियार लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै आई.एन.एफ. का परियोजना सहजकर्ता विजय कुमार परियारले आई.एन.एफले तीन ओटा क्षेत्रमा काम गर्ने गरेको बताए । जसमा कुष्ठरोग, अपांगता र प्राकृतिक प्रकोप रहेको उनले बताए । उनले भुकम्प सुरक्षा दिवस भएकाले संस्थाले सुप समावेशी आधारभुत विद्यालयसँग सहकार्य गरेको बताए ।
उनले भुकम्पमा परेका मानिसलाई कसरी सहयोग गर्न सकिन्छ, भुकम्प जानु अगाडी उनिहरुलाई कसरी सचेत गराउन सकिन्छ भन्ने विषयका विभिन्न सचेतनामुलक कार्यक्रमहरु संस्थाले गर्दै आएको बताए । उनले भुकम्पको जोखिममा रहेका बालबालिका तथा मानिसहरुलाई कसरी सुरक्षीत बनाउन सकिन्छ भन्ने क्षेत्रमा पनि संस्थाले काम गर्ने गरेको बताए । उनले प्राकृतिक प्रकोपका क्षेत्रमा काम गर्नका लागि आई.एन.एफ पनि सबैसँग हातेमालो गर्न तयार रहेको बताए ।
कार्यक्रममा विद्यार्थी एवम् अभिभावकहरुलाई भुकम्पको जोखिम तथा भुकम्पबाट बच्न सकिने उपायहरुका बारेमा प्रस्तुती दिईएको थियो ।
















