खाेज्नुहाेस

त्रिनगर भन्सारको राजस्व संकलनमा कमी

Image

धनगढी– सुदूरपश्चिमको प्रमुख भन्सार नाकामध्ये एक त्रिनगर भन्सारको राजस्व संकलनमा कमी आएको छ । गत वर्षको तुलनामा उक्त भन्सारको राजश्व संकलनमा कमी आएको हो ।

विलासिताका सामान तथा उपभोग्य वस्तु आयातमा गिरावटसँगै भन्सारको राजस्व संकलन प्रभावित भएको देखिएको छ ।
भन्सार अधिकृत प्रकाश तिमिल्सिनाले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको तथ्याङ्क तुलना गर्दा भन्सार राजस्व ५.१४ प्रतिशतले खुम्चिएको छ । उक्त भन्सारबाट गत आर्थिक वर्षको साउनदेखि मंसिरसम्म प्रमुख २० वस्तुहरूबाट २ अर्ब ६० करोड ४३ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा यो रकम घटेर २ अर्ब ४७ करोड ४ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ ।

attariya hospital

कैलाली भन्सार कार्यालयको राजस्वको मेरुदण्ड अझै पनि पेट्रोलियम पदार्थ नै देखिएको छ । अन्य वस्तुको आयात कम भए पनि डिजेल र पेट्रोलको आयात बढेको छ । चालु आर्थिक वर्षको समीक्षा अवधिमा डिजेल आयात ३.४१ प्रतिशतले बढेर १ अर्ब १५ करोड ६ लाख रुपैयाँ बराबरको राजस्व योगदान गरेको छ । त्यस्तै, पेट्रोलको आयातबाट ७२ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन भएको छ, जुन गत वर्षको समीक्षा अवधिको तुलनामा २ प्रतिशतले बढी हो ।

navjiwan hospital

‘समग्र व्यापारमा मन्दी देखिए पनि इन्धनको खपत नघट्नुले यातायात क्षेत्र चलायमान नै रहेको संकेत गर्छ,’ भन्सार अधिकृत तिमिल्सिनाले भने । उनका अनुसार खाना पकाउने एलपी ग्यासको राजस्वमा भने करिब ४ प्रतिशतको सामान्य गिरावट देखिएको छ । यो भन्सार नाकाबाट तयारी प्याकेटका खानेकुराको आयातमा गिरावट आएको छ । विगतमा भारतीय बजारबाट ठुलो मात्रामा भित्रिने दालमोठ, भुजिया, चमेना र पापडजस्ता वस्तुहरूको आयात चालु आर्थिक वर्षमा घटेको छ ।

दालमोठ र भुजियाबाट गत वर्ष साउनदेखि मंसिरसम्म १५ करोड ८ लाख राजस्व सङ्कलन भएकोमा यस वर्ष सो अवधिमा जम्मा ४ करोड ९१ लाख रुपैयाँमात्र सङ्कलन भएको छ । यो भनेको ६७.४४ प्रतिशतको गिरावट हो । भारतीय पापडको आयात घटेको छ । गत वर्ष समीक्षा अवधिमा २ करोड ८८ लाख राजस्व भारतीय पापड आयातबाट भएको थियो । यस वर्ष सोही अवधिमा ९०.६४ प्रतिशतले राजस्व घटेर २६ लाख रुपैयाँमा खुम्चिएको छ । यस्तै, तयारी सुपको आयातमा पनि ६२.७२ प्रतिशतको गिरावट आएको छ ।

सडक निर्माणमा प्रयोग हुने बिटुमिन (अलकत्रा) को आयात भने १०७.९६ प्रतिशतले बढेको छ । गत वर्ष बिटुमिन आयातबाट २ करोड २९ लाख रुपैयाँ राजस्व उठेकोमा यस वर्ष ४ करोड ७६ लाख राजस्व सङ्कलन भएको छ । यस्तै निजी घर वा भवन निर्माणमा प्रयोग हुने फिनिसिङ सेरामिक्स (टायल) र ग्रेनाइटको आयातमा भने भारी मन्दी छाएको छ । सेरामिक्सको राजस्व ६०.६९ प्रतिशत र ग्रेनाइटको राजस्व ३९.१४ प्रतिशतले घट्नुले घरजग्गा कारोबार र निजी आवास निर्माणमा मन्दी देखिएको हो ।

उद्योगतर्फ कागज तथा पेपरबोर्डको आयातमा १६७.२३ प्रतिशतको उछाल आएको छ । यसले प्याकेजिङ तथा मुद्रण उद्योगमा केही गतिविधि बढेको देखाउँछ । यस्तै पशुपन्छीको दानाका लागि प्रयोग हुने भटमासको पिनाको आयात २३.८६ प्रतिशतले घट्नु र बस–ट्रकका टायरको आयात ९ प्रतिशतले घट्नुले कृषि तथा यातायात क्षेत्रमा केही शिथिलता रहेको देखाउँछ ।