कञ्चनपुर– चिसो बढेपछि कञ्चनपुरका तिन पालिकाले विद्यालय बन्द गरेका छन । पछिल्लो केही दिनयता बढेको चिसोका कारण जिल्लाका बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेल्डाँडी गाउँपालिकाले पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेका हुन ।

चिसो बढेसँगै यहाँका पालिकाले सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन बन्द गराएका हुन् । बेल्डाडी गाउँपालिकाले सोमबारदेखि तीन दिनका लागि बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ भने बेलौरी नगरपालिकाले पुस २५ गतेसम्म विद्यालय बन्द गरेको जनाएको छ । अत्यधिक जाडोका कारण विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गरी जाडो बिदा गरिएको नगरपालिकाले जनाएको छ ।

यस्तै, लालझाडी गाउँपालिकाले पनि सोमबार सूचना जारी गरी विद्यालयको सञ्चित हिउँदे बिदाबाट कट्टा हुनेगरी मङ्गलबार र बुधबार दुई दिन बिदा दिएको जनाएको छ । केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि विद्यालय बन्द गरिएको पालिकाहरुले जनाएका छन । चिसोका कारण विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
















