खाेज्नुहाेस

जोगबुढा अस्पतालको स्तरोन्नति गर्न सम्झौता

Image

डडेल्धुरा – डडेल्धुराको भित्री मधेसस्थित परशुराम नगरपालिकामा रहेको जोगबुढा अस्पताल अब ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति भई सञ्चालन हुने भएको छ ।

अस्पतालको स्तरोन्नति र व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र परशुराम नगरपालिकाबिच औपचारिक सम्झौता सम्पन्न भएको हो । प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएबमोजिम जोगबुढा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा विकास गर्न यो द्विपक्षीय सम्झौता गरिएको हो ।

attariya hospital

सामाजिक विकास मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच मन्त्रालयका तर्फबाट प्रदेश सचिव हेमराज रेग्मी र परशुराम नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

navjiwan hospital

उक्त सम्झौता कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का र परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीको समेत उपस्थिति थियो । सम्झौतासँगै अब साविकको जोगबुढा अस्पतालको सम्पूर्ण चल–अचल सम्पत्ति, जग्गा, भवन, स्वास्थ्य औजार, उपकरण तथा विद्युतीय प्रणालीहरू नगरपालिकाले प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

अब अस्पतालको नाम सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, जोगबुढा प्रादेशिक अस्पताल, परशुराम, डडेल्धुरा’ रहनेछ ।

अस्पतालमा जनशक्ति व्यवस्थापनका सन्दर्भमा प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार स्वीकृत संगठन संरचनाबमोजिम हुनेछ भने हाल कार्यरत स्थायी कर्मचारीहरूको पदपूर्ति प्रदेश लोकसेवा आयोगमार्फत नहुञ्जेलसम्म अस्पतालले आवश्यकताका आधारमा करार सेवामा निरन्तरता दिन सक्ने व्यवस्था मिलाइएको छ ।

साथै प्रदेश सरकारबाट पूर्ण रूपमा बजेट व्यवस्थापन नभएसम्म अस्पतालको नियमित प्रशासनिक खर्च हाललाई अस्पताल व्यवस्थापन समितिकै स्रोतबाट व्यहोरिने सम्झौतामा उल्लेख छ । संघीय सरकारको मन्त्रिपरिषद्ले २०८२ वैशाख ३१ गते नै अस्पताललाई १५ बाट ५० शय्यामा स्तरोन्नतिसहित प्रदेश सरकार मातहत हस्तान्तरण गर्न स्वीकृति प्रदान गरिसकेको थियो ।

सोही निर्णय र प्रदेश सरकारको १४६ जना कर्मचारीको दरबन्दी तेरिज स्वीकृत भएपश्चात यो सम्झौता कार्यान्वयनमा आएको हो । अस्पतालको सञ्चालन तथा रेखदेखका लागि सुदूरपश्चिम प्रदेश अस्पताल व्यवस्थापन समिति गठन आदेशबमोजिम नयाँ व्यवस्थापन समिति गठन गरिनेछ । अस्पताल स्तरोन्नतिसँगै डडेल्धुराको भित्रीमधेस क्षेत्रका नागरिकले आफ्नै ठाउँमा विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।