अत्तरिया – कैलालीको अत्तरियामा पुस ९ गते देखि सुरु भएको महोत्सवको आज (सोमबार) समापन गरिँदै छ । सुरुमा पुस १९ गते सम्म सञ्चालन हुने भनेको महोत्सव २ दिन थप गरिएको थियो । २ दिन थपिए सँगै यो पटकको महोत्सव १३ दिन सम्म सञ्चालन हुने भएको छ ।
‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२’ नामकरण गरिएको महोत्सवको न्यु सृजनशील युवा क्लबले सञ्चालन गरेको थियो । महोत्सवको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले समापन गर्ने आयोजक क्लबका सदस्य एवम् स्टल संयोजक विक्रम विष्टले बताए ।


महोत्सवको समापनको दिन दुर्गेश थापा, लक्ष्मी आचार्य, शोभा त्रिपाठी, गंगा थापा लगायतका कलाकारले पनि आफ्नो प्रस्तुति राख्ने छन् । १२ दिन सम्म महोत्सव सम्पन्न हुँदा दर्शकको उत्साहजनक साथ पाएको आयोजकले जनाएको छ । १८० स्टल रहेको महोत्सवमा रमाइलो मेला, थारु गाउँ लगायतका आकर्षक रहेका थिए । महोत्सवमा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूलाई निःशुल्क, विद्यार्थीलाई ५० रुपैयाँ र सामान्य टिकट १ सय रुपैयाँ तोकिएको छ ।
अत्तरियामा पहिलो पटक न्यु सृजनशील युवा क्लबले नै २०६७ सालमा महोत्सव आयोजना गरेको थियो । त्यसपछि २०७२ देखि २०८० सम्म भने अत्तरिया उद्योग वाणिज्य संघले अत्तरियामा ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ आयोजना गरेको भए पनि आन्तरिक विवादका कारण गत वर्ष संघले महोत्सव आयोजना गर्न सकेको थिएन ।
यस वर्ष पनि अत्तरिया उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न सक्ने अवस्था नदेखिएपछि क्लब अघि सरेको थियो । महोत्सवको उद्घाटन गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले गरेका थिए ।


















