अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) रोक्न जनप्रतिनिधिले बेवास्ता गरेको भन्दै विभिन्न राजनीतिक दलहरूले चिन्ता व्यक्त गरेका छन् । डीडीसी संरक्षण सङ्घर्ष समितिले शनिवार अत्तरिया आयोजना गरेको सर्वदलीय, सर्वपक्षीय भेलामा बोल्ने वक्ताहरूले अत्तरियामा जोडिएको सम्पत्ति पनि बाहिर जानु चिन्ताको विषय भएको बताएका हुन ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नन्द राज भट्टले स्थानीय सरकारले आफैले गरेको प्रतिबद्धता पुरा गर्नुपर्ने बताए । उनले डीडीसीलाई अत्तरियामा रोक्नका लागि जनताले सङ्घर्ष गर्न आवश्यक रहेको बताए ।

राप्रपाका नेता प्रकाश भट्टले यस क्षेत्रमा डीडीसी किन राखिएको थियो र अहिले किन लगिँदै छ भनेर यहाँका जनप्रतिनिधिले जवाफ दिनुपर्ने बताए । उनले यस्तै अवस्था रहेमा यहाँका जनप्रतिनिधिलाई सामाजिक बहिस्कार गर्नुपर्ने बताए । ‘कोठाभित्र बसेर जसले यसलाई बाहिर पठाउने हस्ताक्षर गर्दे छन् तिनीहरूलाई हामीले बहिस्कार गर्नुपर्छ’ उनले भने ‘यो क्षेत्रको विकास यसै क्षेत्रका जनताले चाहना अनुसार हुनुपर्छ ।’
नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् पूर्व प्रदेश मन्त्री कृष्ण राज सुवेदीले यस क्षेत्रमा भएको डीडीसी बाहिर जानु दुर्दशाको विषय भएको बताए । उनले नगरपालिकाबाट डीडीसी बाहिर जानुमा नगरप्रमुखको भूमिका भएको आफूले बुझेको बताउँदै नगरप्रमुख अत्तरियाको विकासको विरोधी हो भनेर प्रश्न गरे ।
‘अत्तरियाबाट एउटा कार्यालय बाहिर जाँदा वहाँलाई (नगरप्रमुख) आत्मग्लानि हुन्न भने हामीले कसरी वहाँलाई नगर पिताको रूपमा स्विकार्ने’ उनले भने ‘जनप्रतिनिधि पद क्षणिक हो । उनले भने यो पद ५ वर्षको लागि हो । राम्रो काम गरे फुल माला लगाउछन नराम्रो काम गरे जुत्ताको माला लगाउछन ।’ उनले जनप्रतिनिधिको काम भएको काम थप गर्नुपर्नेमा भएको पनि घटाउने काम गरे जनप्रतिनिधि हुनुको औचित्य नभएको बताए । उनले आफू पनि कुनै समय जनप्रतिनिधि भए पनि आफूले जनविरोधी काम कहिले नगरेको बताए ।
एमालेका नेता गणेश जिमी साउँदले सार्ने ठाउँमा पनि भाडामै बस्ने भएमा किन सारिरहेको भन्ने विषयमा खोजी गर्नुपर्ने बताए । उनले ५० लाख १ करोडका लागि डीडीसी धनगढी जान लागेको भए गोदावरीका स्थानीयले सङ्कलन गरेर दिन सक्ने बताए ।

नेपाली कांग्रेस गोदावरीका सभापति वीर बहादुर चोखालले भने मेयर मात्रै जनप्रतिनिधि नभएर प्रदेशका जनप्रतिनिधिको पनि दायित्व हुने बताए । ‘जग्गा किन दिन सक्नु भएन, भाडा मिनाहा गर्न सक्नु भएन भन्ने कुरामा मेयरको कमजोरी होला’ उनले भने ‘यहाँ अरू जनप्रतिनिधि पनि छन् । प्रदेशका सांसद छन् । ती के हेरेर बसेका छन् । अरूका पार्टीका नेतालाई पनि डीडीसी चाहिँदैन ?’ उनले उद्योग कलकारखाना सबैलाई चाहिने बताउँदै सबैलाई चाहिने कुरामा सबै लाग्नुपर्ने बताए ।
युवा व्यवसायी योगेस भट्टले एक सानो गल्तीले पचासौँ जानाको रोजगारी गुम्ने भएकाले उनले डीडीसीलाई अत्तरियामा राख्न आफू सहयोग गर्न तयार रहेको बताए । उनले डीडीसीको भवन बनाउनको लागि समस्या भएमा आफूले आवश्यक पर्ने ढुङ्गा, बालुवा फाल्न तयार रहेको बताए ।
‘नगरपालिकाले अत्तरिया चोकमा आकाशे पुलका लागि बजेट विनियोजन गर्न सक्ने तर, डीडीसीका लागि ४०–५० लाख खर्च गर्न नसक्ने ?’ उनले भने ‘जनप्रतिनिधिले जे मन लाग्यो त्यो गर्न पाइँदैन ।’
डीडीसी संरक्षण सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डेय (आगो) ले डीडीसी अत्तरियामा रोक्नका लागि एक वर्ष देखि आफूहरू सङ्घर्षमा रहेको भए पनि नगरप्रमुखले आफैले गरेको बाचा अनुसार काम नगर्दा अहिले डीडीसी धनगढी जान लागेको बताए । उनले अहिले डीडीसीको कार्यालय र केही उद्योगका उपकरण पनि धनगढी सारिसकिएको बताउँदै अझै पनि यसलाई रोक्ने यस क्षेत्रका सबै एकजुट हुन आवश्यक रहेको बताए ।
छलफलमा सहभागी गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले पहिले जग्गा र घर निर्माणका लागि २५–३० लाख सहयोग गर्ने भने पनि जेन जी आन्दोलनका कारण रकम दिन नसकिने अवस्था रहेको बताए । उनले डीडीसीलाई जग्गा दिन गोदावरी नगरपालिका तयार रहेको बताउँदै रकम भने आगामी आर्थिक वर्षमा मात्रै दिन सकिने बताए ।
डीडीसी गत वर्ष पुस १५ गते नै धनगढी सार्न खोजिए पनि गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टको अध्यक्षतामा बसेको सर्वदलीय भेलाले डीडीसीका लागि जग्गा खोज्न गोदावरी नगरपालिकाका प्रवक्ता एवम् वडाध्यक्ष गोपाल दत्त भट्टको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले केही ठाउँमा जग्गा खोजी गरिरहेकै बेला पुनः डीडीसी सार्न खोजिएको भन्दै ५ महिना पछि अर्थात् जेठ ८ गते स्थानीयले डीडीसीको प्रशासनिक कार्यालयमा तालाबन्दी गरेका थिए ।
उक्त तालाबन्दीको करिब साढे ३ महिना पछि भदौ ३१ गते खुलेको थियो । त्यसपछि केही महिना सुस्ताएको डीडीसीको मुद्दा पुस १२ गते देखि डीडीसी कार्यालयका सामान धनगढी सार्न थालिएपछि विवाद भएको छ ।
स्थानीले पुस १४ गते डीडीसीमा दोस्रो पटक तालाबन्दी गरेका छन् । गोदावरी नगरपालिका – १ को वडा कार्यालयमा पनि तालाबन्दी गरेका छन् । स्थानीयले डीडीसी अत्तरियाबाट धनगढी सार्न थालिएपछि अवरोध गर्दै डीडीसी र वडा कार्यालयमा तालाबन्दी गरेका हुन ।


















