अत्तरिया – कैलालीको अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सवले दर्शकको भरपुर साथ पाइरहेको छ । प्रतिकुल मौसमका बाबजुद प्रत्येक दिन महोत्सवमा उल्लेख्य सङ्ख्यामा दर्शकहरू आउने गरेका छन् भने बिदाका दिनमा महोत्सव स्थलको क्षमताभन्दा बढी दर्शक आउँदा आयोजकलाई हम्मे हम्मे पर्ने गरेको छ । नौ दिनको महोत्सव अवधि सकिदा ३ दिन सार्वजनिक बिदा परेको छ । जसको लाभ समेत महोत्सवलाई पुगेको छ । नौ दिनको अवधिमा करिब ४० हजार बढी दर्शकले महोत्सवको अवलोकन गरिसकेको टिकट व्यवस्थापन समितिका संयोजक छविद्रनाथ योगीले बताए ।
पुस ९ गते उद्घाटन भएको महोत्सवको भोलिपल्ट क्रिसमस डे को बिदा परेको थियो । रमेश राज भट्टराई, समीक्षा अधिकारी लगायतले प्रस्तुति दिएको सो दिन मात्रै करिब ९ हजार दर्शकले अवलोकन गरेका थिए । त्यस्तै पुस १२ गते शनिवारको बिदा, पुस १५ गते तमु ल्होसारको बिदाको दिन पनि दर्शकहरूको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो । शनिवारको बिदाका दिन भने महोत्सव स्थलमा भरिभराउ हुँदा आयोजकले टिकट काट्न समेत बन्द गर्नु परेको थियो ।

आयोजक न्यु सृजनशील युवा क्लबका अध्यक्ष नर बहादुर राईले बिदा बाहेकका दिनमा पनि दर्शकहरूको राम्रै उपस्थिति रहने गरेको बताए । उनले महोत्सवमा अपेक्षा गरेको भन्दा पनि राम्रो दर्शकहरूको साथ पाइरहेको बताए । ‘विगत २ वर्षदेखि महोत्सव रोकिएकाले पनि यस वर्ष राम्रै दर्शक आउने अपेक्षा थियो’ उनले भने ‘यसअघि धनगढीमा महोत्सव भए पनि हामीले समेट्ने दर्शक भनेको अलि ग्रामीण क्षेत्रका हुन । ओलानी, खानीडाँडा, हाटखोली, चौमाला, गुलरियाका मानिसहरूलाई धनगढी जान गाह्रो हुन्छ । अत्तरियाबाट ती क्षेत्रमा सहजै आउजाउ गर्न सकिन्छ ।’


उनले महोत्सवमा उत्साहजनक सहभागिता रहेकाले महोत्सव अवधि थप्ने तयारी गरिएको बताए । ‘महोत्सव अवधिमा खासै घाम लागेन, आज मात्रै हो घाम लागेको’ बिहीबार अत्तरिया खबर सँग कुराकानी गर्दै उनले भने ‘दर्शकहरूले चिसै चिसोमा रमाउनु पर्ने बाध्यता थियो । घाम लागेकाले २÷४ दिन दर्शकहरू घाममा पनि रमाउन पाउन भनेर २ दिन महोत्सवको अवधि थप गर्ने तयारी गरिएको छ ।’
उनले महोत्सव अझै पल शाह, दुर्गेश थापा, पशुपति शर्मा, रचना रिमाल जस्ता चर्चित कलाकार आउन बाँकी रहेको बताए । उनले क्लबद्वारा महोत्सव सञ्चालनमा केही चुनौती भए पनि चुनौती चिर्दै महोत्सवलाई भव्य रूपमा सफल गर्ने योजनामा आफूहरू रहेको बताए । उनले सय वर्षको महोत्सव सफलताका साथ सम्पन्न गरेर आगामी वर्ष अझै वृहत् रूपमा महोत्सव सञ्चालन गर्ने आफूहरूको योजना रहेको बताए ।
अत्तरियामा जारी महोत्सवमा यस क्षेत्रको व्यवसाय प्रवर्धनका लागि १८० वटा स्टल राखिएका छन् । स्टलहरूमा स्थानीय उत्पादन देखि अन्तर्राष्ट्रिय उत्पादन पनि राखिएका छन् । महोत्सवमा थारु गाउँलाई छुटै स्थान दिइएको छ भने रमाइलो मेलाको पनि व्यवस्थापन गरिएको छ ।
महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरूलाई छुटको व्यवस्था गरिएको छ भने विद्यार्थीलाई ५० प्रतिशत छुट गरिएको छ । सामान्य टिकट भने १० रुपैयाँ तोकिएको छ ।
जारी महोत्सवमा हालसम्म राष्ट्रिय स्तरमै चर्चित कलाकारहरु समिक्षा अधिकारी, हेमन्ता शर्मा, जी बब, हिमाल सागर, राम जी खाँड, चक्र बम, टंक तिमिल्सेना, प्रकाश सपुत लगायतका कलाकारले आफ्नो प्रस्तुति राखिसकेका छन् । महोत्सवमा पुस १८ गते पल शाह, शान्ति श्री परियार लगायतका कलाकार आउने आयोजकले जनाएको छ ।


















