कञ्चनपुर – कञ्चनपुरका हिलोमा फसेको बाघको बच्चाको मृत्यु भएको छ । दोधाराचाँदनी नगरपालिका १ चाँदनी गैरीशंकर सामुदायिक वन क्षेत्र नजिकै नदीको हिलोमा फसेको बाघको बच्चाको मृत्यु भएको हो । बुधबार बिहान बगिनी आमासँगै जगबुढा नदी गैरीशंकर सामुदायिक वन क्षेत्रमा भेटिएका थिए, स्थानीयले देखेपछि प्रहरी वन, सहितका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खबर गरेका थिए ।

वन निकुञ्जको टोलीले बाघको बच्चा उद्दार गर्दा भावि दिनहरुमा बगिनीले गाँउमा आतंक मच्चाउने भन्दै छाडेका थिए । बिहान जिउँदै भेटिएको बाघको बच्चा साँझ मृत फेला परेको हो । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ डिभिजनल वन अधिकृत सुरेन्द्रचन्द्र डिसीले बिहान निकुञ्जको टोली उद्दारमा गएको तर उद्दार नगरिकनै फर्किएपछि बाघको बच्चाको मृत्यु भएको दाबि गरेका छन् ।

बरिष्ठ वन अधिकृत डिसीले बाघको बच्चा उद्दारका लागि निकुञ्ज प्रमुखसँग आफुले भनेको तर, उनले नै त्यो बच्चा मर्न देउ भनेर जवाफ दिएपछि हामी चिन्तित भएको दाबी गरेका छन् ।
तर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख सरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बाघको बच्चाको संयोगले मृत्यु भएको बताए । शनिबार मात्रै बाघको आक्रमणबाट पुनर्वास नगरपालिका – ६ की सुना निरौलाको मृत्यु भएको थियो ।


















