खाेज्नुहाेस

अत्तरियामा महोत्सवको पुनरागमन : अवसर र चुनौती

Image

कैलालीको अत्तरियामा दुई वर्षपछि फेरि महोत्सवको आयोजना हुनु क्षेत्रका लागि एकदमै सकारात्मक संकेत हो । महोत्सवले स्थानीय अर्थतन्त्रलाई सक्रिय बनाउन मात्र होइन, यहाँको सांस्कृतिक र सामाजिक जीवनमा पनि नयाँ रौनक थप्ने भूमिका खेल्दछ । लामो समयदेखि नियमित रूपमा हुँदै आएको महोत्सव केही विवाद र व्यवस्थापन कमजोरीका कारण रोकिँदा अत्तरिया क्षेत्रको सांस्कृतिक, आर्थिक र सामाजिक गतिविधि केही सुस्त अवस्थामा पुगेको थियो । यस वर्ष नयाँ व्यवस्थापन र नयाँ स्थानसहित महोत्सव पुनः सञ्चालन हुनु अत्तरियाका लागि केवल मनोरञ्जनको अवसर मात्र नभई स्थानीय अर्थतन्त्र चलायमान बनाउने महत्वपूर्ण माध्यमको रूपमा देखा पर्छ ।

विगतदेखि नै महोत्सवले स्थानीय उत्पादन, कला, संस्कृति र व्यापारलाई एकै थलोमा प्रस्तुत गर्दै आएको छ । उद्योग वाणिज्य संघले सञ्चालन गर्दै आईरहेको महोत्सव यसपटक अत्तरियाकै एउटा युवा क्लब न्यू सृजनशिल युवा क्लबले सञ्चालन गरिरहेको छ । यही पौष ९ गतेदेखि सुरु भएको महोत्सव छैटौ दिनसम्म आईपुग्दा सफल एवम् व्यवस्थीत रुपमा सञ्चालन भैरहेको छ । महोत्सव सफल हुने बाटोमा अघि बढीरहदाँ महोत्सवको यो उत्साहसँगै केही गम्भीर प्रश्नहरू पनि जोडिएका छन् । लामो समयदेखि निरन्तर हुँदै आएको महोत्सव विभिन्न आन्तरिक विवाद, व्यवस्थापन कमजोरी र समन्वयको अभावका कारण प्रभावित हुँदै आएको तथ्य बिर्सन मिल्दैन ।

attariya hospital
navjiwan hospital

विगतमा देखिएका व्यवस्थापन कमजोरी, आन्तरिक विवाद र पारदर्शिताको अभावले नागरिकमा निराशा जन्माएको अवस्थालाई ध्यान दिईनुपर्दछ । महोत्सव अत्तरिया क्षेत्रको पहिचानसँग जोडिएको कार्यक्रम भएकाले यसमा देखिने कमजोरीले सिधै क्षेत्रकै छविमा असर पार्छ । विगतमा महोत्सवका नाममा अव्यवस्था, पारदर्शिताको अभाव र विवादले नागरिकमा निराशा जन्माएको यथार्थलाई स्वीकार नगरी अगाडि बढ्नु आत्मघाती हुनेछ । महोत्सव सफल भयो कि भएन भन्ने मूल्याङ्कन दर्शकको संख्याले मात्र होइन, व्यवस्थापनको गुणस्तरले गर्ने हो । त्यसैले भीड व्यवस्थापन, सुरक्षाको सुनिश्चितता, सरसफाइ र यातायात व्यवस्थापनजस्ता पक्षमा विगतका कमजोरी दोहोरिन नदिन विशेष सतर्कता आवश्यक छ ।

यहाँका किसान, साना उद्यमी र घरेलु उत्पादकलाई बजार पहुँच दिलाउने काम महोत्सवले गर्दै आएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन बिना आत्मनिर्भर अर्थतन्त्रको सपना अधुरै रहन्छ । महोत्सवजस्ता कार्यक्रमले स्थानीय उत्पादनलाई चिनाउने, उपभोक्ता र उत्पादकबीच प्रत्यक्ष सम्बन्ध बनाउने अवसर प्रदान गर्छन् । ठूलो संख्यामा दर्शक भित्र्याउने अपेक्षाले अत्तरिया क्षेत्रको होटल, यातायात, खुद्रा व्यापार र सेवाक्षेत्रमा पनि सकारात्मक प्रभाव पर्नेछ । यसले रोजगारी सिर्जना हुनुका साथै स्थानीय अर्थतन्त्रमा नगद प्रवाह बढाउनेछ भन्ने विस्वास लिन सकिन्छ ।

अन्ततः महोत्सव अत्तरियामा रौनक ल्याउने प्रमुख माध्यम हो । यसपटकको महोत्सव केवल उत्सवको खुसीमा सीमित नहुने, विगतका अनुभवबाट पाठ सिकेर पारदर्शी, उत्तरदायी र व्यवस्थित रूपमा सञ्चालन हुने प्रमाण बन्नुपर्छ । महोत्सवको सफलताले अत्तरिया क्षेत्रमा पुनः रौनक थप्नेछ । यसरी मात्र अत्तरिया क्षेत्रको सांस्कृतिक र आर्थिक पुनरुत्थान सुनिश्चित गर्न सकिनेछ ।