खाेज्नुहाेस

जेनजी सहिद परिवारको घरमा पुगे बैतडीका प्रजिअ

Image

बैतडी – जेनजी सहिद दीपक साउदले सहादत प्राप्त गरेको साढे तीन महिनापछि उनको परिवारलाई सान्त्वना दिन बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल पुगेका छन् । शिवनाथ गाउँपालिका–२ शर्मालीका साउदले जेनजी आन्दोलनका क्रममा भदौ २३ मा काठमाडौंमा सहादत प्राप्त गरेका थिए ।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन र प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न ठाउँमा सहादत प्राप्त भएकाहरूलाई सरकारले उपलब्ध गराउने भनेको राहत र किरिया खर्च बापतको एकमुष्ट १५ लाख रकम पनि जिल्ला प्रशासन कार्यालयले सहिद दीपकका बुबाको खातामा जम्मा गरिदिएको थियो ।

attariya hospital
navjiwan hospital

राहत रकम दिन पनि घरमा नगएका प्रजिअ पौडेल बुधबार सहिद दीपकको घरमा गएर उनको परिवारलाई भेटेका हुन् । सरकारले सहिद घोषणा गरेपछि आफू सहिद दीपकको परिवारलाई सान्त्वना दिन उनको घरमा पुगेको प्रजिअ पौडेलले बताए ।

‘जिल्लामा रोजगारीका लागि उनको परिवारका सदस्यलाई प्राथमिकता दिन्छौं,’ उनले भने, ‘घरमा गएर उनको परिवारको बारेमा पनि बुझ्यौं ।’ सान्त्वना दिन र सम्मानस्वरूप सहिद दीपकको परिवारका सदस्यलाई भेट्न गएको उनले बताए ।

गत कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन र प्रदर्शनका क्रममा जीवन गुमाएका दीपकसहित मुलुकका ४५ जनालाई सहिद घोषणा गरेको थियो । सहिद दीपकको परिवार भेट्न, सान्त्वना दिन र परिवारका बारेमा बुझ्न केन्द्रको कुनै निर्देशन नभए पनि मानवीयता नाताले गएको प्रजिअ पौडेलले बताए ।

साढे तीन महिनापछि आफूहरूको अवस्था बुझ्न घरमा प्रमुख जिल्ला अधिकारी आउँदा सरकारले पनि आफूहरूलाई हेरेजस्तो लागेको सहिद दीपकका बुबा कालु साउदले बताए । भेटमा प्रजिअले जेन–जी सहिदहरूको नामावलीसहितको फोटोफ्रेम पनि हस्तान्तरण गरेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।