खाेज्नुहाेस

बैतडीमा पाँच वर्षदेखी लगातार बजेट आएपनि योजना अलपत्र

Image

बैतडी– बैतडीमा पछिल्लो पाँच वर्षदेखी लगातार बजेट आएपनि योजना भने अलपत्र अवस्थामा रहेको छ । जिल्लाको मेलौली नगरपालिका– ९ विशालपुरमा खानेपानी योजनाका लागि लगातार पाँच वर्षसम्म बजेट आएको भएपनि योजना भने कार्यान्वयन हुन नसकेको हो ।

पाँच वर्षदेखी सो योजनाका लागि हालसम्म २ करोड ९९ लाख बजेट आईसकेको भएपनि अझै सम्म योजना कार्यान्वयन हुन नसकेको वडाध्यक्ष लोकराज भट्टले बताए । उनले गाउँमा भएका पानीका मुहान सुक्दै जानथालेपछि विकल्पमा मेलघट–केदारमाडौं लिफ्ट खानेपानी योजनाको माग गरे पनि पाँच वर्षदेखि निरन्तर बजेट आए पनि योजना सुरु नभएको बताए ।

attariya hospital
navjiwan hospital

‘आव २०७८/०७९ मा संघ सरकारबाट नगरपालिकामा २ करोड रुपियाँ आएको थियो । डिपिआर बनाएर बाँकी बजेट फ्रिज भयो । अर्को वर्ष प्रदेश सरकारबाट ९ लाख रुपियाँ आयो । प्रदेशको योजना पनि डिपिआरमै सकियो’ उनले भने ‘आव २०७९/०८० मा ५० लाख रुपियाँ आयो, तर कार्यान्वयन भएन । २०८१/०८२ मा ३० लाख र चालु आ.व. २०८२/०८३ मा प्रदेश सरकारबाट १० लाख रुपियाँ आएको छ । अहिलेसम्म कार्यान्वयन हुनसकेको छैन ।’

प्रत्येक वर्ष योजना आउने तर कार्यान्वयन नहुँने समस्या देखिपछि मेलौली नगरपालिकाले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीलाई यही मङ्सिर १२ गते योजना कार्यान्वयन गरिदिन पत्र पठाएको मेलौली नगरपालिकाका नगरप्रमुख भीमबहादुर चन्दले बताए । खानेपानीका लागि सरकारले हरेक वर्ष बजेट आउँदा खुसी लागे पनि योजना कार्यान्वयन नभएर बजेट फ्रिज हुँदा दुःखी बनेको स्थानियबासी बताउँछन् ।

विसं.२०४४ सालदेखि उपभोग गर्दै आइरहेको मर्छलेखोला तलको मुहान सुकेपछि एक गाग्री पानीका लागि दिनभरि दौडधुप गर्नु पर्ने बाध्यता रहेको उनिहरुको गुनासो छ । योजना कार्यान्वयन नहुँदा ४२५ घरपरिवार समस्याग्रस्त बनेका छन् । वडाका डिडीगाउँ, गर्जल, थपालेक, डाँफेपिपल, मल्लेक, बर्तोला, रोकटा, कलमटा, सुर्काल लगायतका गाउँ एक गाग्री पानीका लागि दिनभरि पालो कुर्दै आएका छन् । गाउँमा खानेपानीको आपूर्ति हुँदै आएको असुर–रोकटा खानेपानीको मुहान सुकेर सुक्खायाममा पानीको हाहाकार हुने गरेको छ ।